नेपाल आर्थिक स्वतन्त्रतामा ९० औँ स्थानमा

काठमाडौँ । नेपाल आर्थिक स्वतन्त्रताको सूचकमा १६५ क्षेत्राधिकारमध्ये ९०औँ स्थानमा परेको छ । ‘इकोनोमिक फ्रिडम अफ द वल्र्डः २०२६ वार्षिक प्रतिवेदन’ अनुसार नेपाल ९०औँ स्थानमा परेको हो ।

क्यानडाको फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउन्डेसनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल गत वर्षको तुलनामा एक स्थान तल झरेको हो। गत वर्ष नेपाल ८९औँ स्थानमा थियो ।

नेपालले आर्थिक स्वतन्त्रतामा १० मध्ये ६.५९ अंक प्राप्त गरेको छ। वरियतामा एक स्थान घटे पनि नेपालको स्कोर भने कोभिड–१९ महामारीका समयमा भएको गिरावटबाट पूर्ण रूपमा सुधार भएको प्रतिवेदनले जनाएको छ।

सन् २०२० मा नेपालको आर्थिक स्वतन्त्रताको स्कोर ६.३१ रहेकोमा सन् २०२६ मा बढेर ६.५९ पुगेको छ। सन् २०१९ मा भने नेपालको स्कोर ६.५२ थियो।

आर्थिक स्वतन्त्रताको विश्वव्यापी वरियतामा हङकङ पहिलो स्थानमा रहेको छ। त्यसपछि स्विट्जरल्यान्ड, सिङ्गापुर, न्युजिल्यान्ड, अमेरिका, आयरल्यान्ड, डेनमार्क, अस्ट्रेलिया र मौरिसस रहेका छन्। शीर्ष १० को अन्तिम स्थानमा फिनल्यान्ड, नेदरल्यान्ड्स र बेलायत समान वरीयतामा छन्।

सबैभन्दा कमजोर प्रदर्शन गर्ने देशमा प्रजातान्त्रिक गणतन्त्र कङ्गो, इजिप्ट, मलावी, अल्जेरिया, इरान, म्यानमार, लिबिया, सुडान, जिम्बाब्वे र भेनेजुएला रहेका छन्। भेनेजुएला अन्तिम स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *