सुर्खेत । आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ को तयारी तीव्र पारिएको छ।
आइतबार वीरेन्द्रनगरमा बसेको मूल आयोजक समितिको बैठकले प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र एनआरएनएसहित ११ टोलीको सहभागिता रहने निर्णय गरेको छ। प्रतियोगितामा ३२ खेल विधामा प्रतिस्पर्धा हुनेछ।
३२ मध्ये २४ खेलका प्रतिस्पर्धा सुर्खेतमा हुनेछन् भने बाँकी खेल दैलेख, सल्यान, जुम्ला, जाजरकोट, पश्चिम रुकुम, कालिकोट र नेपालगन्जमा सञ्चालन गरिनेछ।
एथलेटिक्स, कुश्ती, ब्याडमिन्टन, कबड्डी, बक्सिङ, कराते, बास्केटबल, फुल कन्ट्याक्ट कराते, क्रिकेट, फुटबल, ह्यान्डबल, हक्की, ई–स्पोर्ट्स, स्क्वास, रग्बी, साइकलिङ, तेक्वान्दो, भलिबल, उसु र सेपाकताक्रो सुर्खेतमा सञ्चालन हुनेछन्।
आईटीएफ तेक्वान्दो र बुद्धिचाल दैलेखमा, टेबल टेनिस सल्यानमा, खो–खो पश्चिम रुकुमको चौरजहारीमा तथा आर्चरी जुम्लामा सञ्चालन हुनेछ। त्यस्तै, सुटिङ, पौडी र टेनिस नेपालगन्जमा आयोजना हुनेछन्।
बैठकले प्रतियोगिता व्यवस्थित रूपमा सञ्चालन गर्न विषयगत उपसमिति गठन गर्ने, निजी क्षेत्रसँग सहकार्य तथा प्रायोजन अघि बढाउने र प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीसमेत अघि बढाउने निर्णय गरेको छ।
