काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारलाई लोकतान्त्रिक पद्धति र संसदीय अभ्यासलाई प्रभावकारी बनाउने विषयमा ९ बुँदे सुझाव दिएको छ ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बिहीबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर सरकार सञ्चालनको शैली, संसदप्रतिको जवाफदेहिता तथा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पक्राउ र रिहाइजस्ता विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
आङ्देम्बेले प्रधानमन्त्रीले संसदको मर्यादा र संसदीय अभ्यासलाई प्राथमिकतामा राख्नुपर्ने बताए । प्रमुख प्रतिपक्षी दलका नेता सदनमा बोलिरहेका बेला प्रधानमन्त्रीको उपस्थिति सुनिश्चित नहुनु संसदीय संस्कारका दृष्टिले उचित नभएको उनको टिप्पणी थियो ।
उनले संसद प्रधानमन्त्रीको सुविधाअनुसार सञ्चालन हुने संस्था नभएको भन्दै सदनमा प्रधानमन्त्रीको नियमित उपस्थितिको आवश्यकता औँल्याए । ‘मन लाग्दा आउने, बस्ने, नलाग्दा उठेर जाने । के यही हो हामीले विकास गर्न खोजेको संसदीय अभ्यास ?’ उनले प्रश्न गरे ।
संसदीय प्रणालीमा प्रधानमन्त्रीले सदनमा उपस्थित भएर सांसदका कुरा सुन्ने र आवश्यकताअनुसार जवाफ तथा प्रतिक्रिया दिने अभ्यास रहेको उल्लेख गर्दै आङ्देम्बेले सरकार गठन गर्ने संसदप्रति प्रधानमन्त्रीले आफ्नो जिम्मेवारी र उत्तरदायित्व बुझ्नुपर्ने बताए ।
उनले संसदलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण थलो र नयाँ पुस्ताका लागि लोकतान्त्रिक संस्कार सिक्ने पाठशालाका रूपमा लिनुपर्ने धारणा राखे ।
‘संसद सत्ता पक्षको हो, प्रतिपक्षको पनि हो । सरकारको पनि हो, जनताको पनि हो,’ उनले भने, ‘यहाँ आम जनताका मुद्दामा संवाद गरिन्छ र त्यसको समाधान खोजिन्छ ।’


















