काठमाडौँ । उत्तर अण्डमान सागर तथा म्यानमारको तटीय क्षेत्र आसपास विकसित न्यूनचापीय प्रणाली गहिरो न्यूनचापीय प्रणालीमा परिणत हुने सम्भावना रहेको छ।
भारतीय मौसम विभागका अनुसार उक्त प्रणाली पछिल्लो तीन घण्टामा प्रतिघण्टा १४ किलोमिटरको गतिमा उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढेको छ।
सोमबार बिहान ८ः३० बजे प्रणाली १५.९ डिग्री उत्तरी अक्षांश र ९७.४ डिग्री पूर्वी देशान्तरमा केन्द्रित रहेको थियो। उक्त प्रणाली म्यानमारको माउलमाइनबाट ७० किलोमिटर दक्षिण–दक्षिणपश्चिम र याङ्गुनबाट १६० किलोमिटर दक्षिणपूर्वमा रहेको छ।
मौसम विभागका अनुसार प्रणाली आज साँझ वा रातिसम्ममा गहिरो न्यूनचापीय प्रणालीमा परिणत हुने सम्भावना छ। त्यसपछि म्यानमारको याङ्गुन र क्याइक्टोबीचको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने अनुमान गरिएको छ।
प्रणालीले त्यसपछिका दुई दिनमा म्यानमारको तटीय क्षेत्र हुँदै उत्तर–उत्तरपश्चिम दिशातर्फ यात्रा गरी बंगालको खाडीको उत्तरपूर्वी भाग र बंगलादेशको आसपासका तटीय क्षेत्रमा प्रभाव पार्ने सम्भावना रहेको विभागले जनाएको छ।
यसैबीच, दक्षिणपूर्वी बंगालको खाडीमा मनसुन मध्यम अवस्थामा रहेको छ। उत्तरपूर्वी तथा दक्षिणपश्चिमी क्षेत्रमा मनसुन कमजोरदेखि मध्यम र उत्तरपश्चिमी तथा पश्चिमी मध्य क्षेत्रमा कमजोर अवस्थामा रहेको छ।
