न्युयोर्क । अमेरिकाले नेपालमा बाढीबाट प्रभावित क्षेत्रमा पुनःस्थापना तथा राहतका लागि थप ३१ मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिलासम्बन्धी उपसचिव एलिसन हुकरले न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनालसँग भएको भेटवार्ताका क्रममा उक्त सहयोग घोषणा गरेकी हुन्।
भेटमा हुकरले नेपालमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकप्रति अमेरिकी सरकारको समवेदना व्यक्त गर्दै सम्पर्कविहीन रहेका करिब ७० अमेरिकी नागरिकका परिवारप्रति पनि सहानुभूति प्रकट गरेकी छन्।
अमेरिकाले प्रभावित क्षेत्रमा स्थायी पुल निर्माणका लागि १० मिलियन डलर उपलब्ध गराउने भएको छ। अमेरिकी कम्पनीबाट निर्माण तथा आपूर्ति गरिने ती पुलले बाढीबाट क्षतिग्रस्त यातायात पूर्वाधार पुनःस्थापना गर्नुका साथै क्षेत्रीय सम्पर्क विस्तारमा सहयोग पुग्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
त्यस्तै, खानेपानी, सरसफाइ तथा स्वच्छता, आश्रय, संरक्षण, जीविकोपार्जन र जाडोयाममा आवश्यक सहयोगका लागि थप ८ मिलियन डलर उपलब्ध गराउने योजना अमेरिकाले सार्वजनिक गरेको छ।
भविष्यमा हुने विपद् व्यवस्थापन तथा पुनःस्थापना कार्यलाई प्रभावकारी बनाउन अमेरिकामै निर्मित ड्रोन खरिदका लागि १३ मिलियन डलर सहयोग गर्ने योजना पनि घोषणा गरिएको छ।
नयाँ सहयोग घोषणासँगै नेपालको बाढी प्रतिकार्य तथा पुनःस्थापना अभियानमा अमेरिकाले उपलब्ध गराउने कुल सहायता ३६ मिलियन अमेरिकी डलरभन्दा बढी पुगेको छ।
अमेरिकी विदेश मन्त्रालयले नेपाल सरकारसँग सहकार्य गर्दै आवश्यकताका आधारमा थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
