काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधानलाई समयअनुकूल परिमार्जन गर्दै लोकतन्त्र र समावेशितालाई थप सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।
संविधान दिवसका अवसरमा पार्टी सभापति रवि लामिछानेले जारी गरेको शुभकामना सन्देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना तथा संविधान निर्माणका क्रममा जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै स्वदेश तथा विदेशमा रहेका नेपाली नागरिकलाई शुभकामना व्यक्त गरिएको छ।
रास्वपाले संविधानलाई राज्य र नागरिकबीचको पवित्र करारका रूपमा उल्लेख गर्दै नेपालको संविधानले परिकल्पना गरेको आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको आधार निर्माण गर्ने कार्य अझै पूर्ण हुन बाँकी रहेको जनाएको छ।
पार्टीका अनुसार लोकतन्त्रको स्थायित्व र संविधानको सार्थकता त्यसले सुनिश्चित गरेका मौलिक हक तथा अधिकार नागरिकको दैनिक जीवनमा प्रभावकारी रूपमा कार्यान्वयन भएपछि मात्र पुष्टि हुनेछ। रास्वपाले सामाजिक लोकतन्त्रमार्फत नागरिकको जीवनमा खुसी र समाजमा न्याय स्थापित गर्ने लक्ष्यसमेत अघि सारेको जनाएको छ।
संविधानलाई ‘जीवन्त दस्तावेज’ का रूपमा व्याख्या गर्दै रास्वपाले राजनीतिक अभ्यासबाट प्राप्त अनुभवका आधारमा संविधानलाई परिष्कृत तथा आवश्यकताअनुसार संशोधन गर्न सकिने उल्लेख गरेको छ। संविधानमै समीक्षा र संशोधनको व्यवस्था रहेकाले त्यसलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने पार्टीको धारणा छ।
यस्तै, विद्यमान कमजोरी सच्याउँदै लोकतन्त्र र समावेशितालाई थप बलियो बनाउन संविधान दिवसका अवसरमा विवेकपूर्ण बहस आवश्यक रहेको रास्वपाले जनाएको छ।
रास्वपाले बलियो राज्यका लागि बलिया संस्थाको आवश्यकता औँल्याउँदै सबै राजनीतिक शक्ति, राज्यका अंग र नागरिकलाई व्यक्तिगत तथा संस्थागत स्वार्थभन्दा माथि उठेर बलियो नेपाल निर्माणको साझा एजेन्डामा एकताबद्ध हुन आह्वान गरेको छ।
