दमौली (तनहुँ) । निर्माण सुरु भएको लामो समय भए पनि यहाँका तीन सडक आयोजना रुग्ण बनेका छन् । आयोजना अलपत्र भएपछि सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।
गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण सुरु गरिएका ती सडकलाई समस्याग्रस्त आयोजनामा राखिएको पूर्वाधार विकास कार्यालय तनहुँका सूचना अधिकारी किरण श्रेष्ठले जानकारी दिए । भानुमार्ग चन्द्रावती पिलिमार्ग कुन्छा कालीमाटी सडक, दुलेगौडा हर्कपुर सडक र आँबुखैरेनी छिम्केश्वरी सडक समस्याग्रस्त बनेको छ ।
भानुमार्ग चन्द्रावती पिलिमार्ग कुन्छा कालीमाटी सडक निर्माणका लागि विसं २०७६ कात्तिक ४ गते सम्झौता भएको थियो । सम्झौताअनुसार २०७८ साल माघ १५ गते सम्पन्न गर्नुपर्ने थियो । पटकपटकको ताकेतापश्चात् पनि काम नभएपछि उक्त सडकमा २०८३ असारसम्म म्याद थप भएको थियो । उक्त खण्डमा हालसम्म ६५.९५ प्रतिशत काम सकिएको छ ।
कुल १०.१२ किलोमिटर लामो उक्त सडक स्तरोन्नतिका लागि रु २० करोड ३७ लाख ८६ हजारमा एमएस शङ्करमाली निर्माण सेवासँग सम्झौता भएको थियो । निर्माण कम्पनीलाई हालसम्म रु १३ करोड ४३ लाख ९६ हजार भुक्तानी गरिएको छ ।
दुलेगौडा–हर्कपुर सडकको हालसम्म वित्तीय ५० प्रतिशत र भौतिक ५५ प्रतिशत प्रगति भएको छ । यो सडकको ठेक्का पनि एमएस शङ्करमाली निर्माण सेवाले नै पाएको थियो । उक्त सडक स्तरोन्नतिका लागि २०७६ साल कात्तिक ४ गते सम्झौता भएको थियो । विसं २०७८ माघ १५ मा सकिनुपर्नेमा उक्त खण्डको म्याद पटकपटक थप गरिएको छ । अन्तिमपटक थपिएको म्याद २०८२ साल चैतमा सकिएको छ ।
हालसम्म रु १४ करोड ४७ लाख ४५ हजार ७४० भुक्तानी भइसकेको छ । १०.१८ किलोमिटर सडक स्तरोन्नतिका लागि रु २५ करोड ९९ लाख दुई हजार ८९५ मा सम्झौता भएको थियो । आँबुखैरेनी–छिम्केश्वरी सडक (पहिलो खण्ड) कालोपत्रका लागि २०७६ साल मङ्सिर ६ गते सम्झौता भएको थियो । विसं २०७८ फागुन १३ गतेसम्म सम्पन्न गर्नुपर्ने म्याद भए पनि पटकपटक म्याद थप गरिएको कार्यालयले जनाएको छ । निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम मिति २०८२ असोजसम्म थियो ।
यस सडकको भौतिक र वित्तीय प्रगति ९१ प्रतिशत बराबर छ । सो सडकका लागि रु ३६ करोड पाँच लाख ५० हजारमा एमएस शर्मा काष्ठमण्डप जेभी बल्खुसँग सम्झौता भएको थियो । कुल १६ किलोमिटर लामो सडक स्तरोन्नतिका लागि रु ३२ करोड ८५ लाख १३ हजार ४८६ भुक्तानी भइसकेको छ ।
