काठमाडौं । पूजा कापी उद्योग प्रा. लि.ले आफ्नो व्यावसायिक यात्रामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गर्दै काठमाडौँमा नयाँ भगिनी कम्पनी पूजा पेपर कन्भर्टिङ इन्डस्ट्रीज प्रा. लि. स्थापना गरी व्यवसाय विस्तार गरेको छ ।
कम्पनीले आसन्न नवौँ वार्षिक साधारण सभाको अवसरमा नयाँ कम्पनी स्थापनासँगै आफ्नो व्यावसायिक गतिविधिलाई थप विस्तार गर्न लागेको जनाएको हो । स्थापनाकालदेखि नै गुणस्तरीय शैक्षिक सामग्री उत्पादन गर्दै आएको पूजा कापी उद्योगले ग्राहकवर्गको विश्वास कायम गर्दै आफ्नो व्यावसायिक यात्रालाई अघि बढाउँदै आएको छ ।
कम्पनीका अनुसार पूजा ग्रुप अफ कम्पनीज’को बृहत् परिकल्पनाअनुसार पूजा पेपर कन्भर्टिङ इन्डस्ट्रीज प्रा. लि. स्थापना गरी राजधानी काठमाडौँमा व्यवसाय विस्तार गरिएको हो । नयाँ कम्पनीको स्थापना तथा उत्पादन र बिक्री–वितरणको विस्तारसँगै आफ्ना उत्पादनहरू देशभरका ग्राहकमाझ अझ सहज, सुलभ र प्रभावकारी रूपमा पुर्याउन सहयोग पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।
भरतपुर, चितवनलाई आधार बनाएर सुरु भएको पूजा कापी उद्योगको व्यावसायिक यात्रामा ग्राहक, व्यावसायिक साझेदार, बैंक तथा वित्तीय संस्था, नियमनकारी निकाय तथा कर्मचारीहरूको निरन्तर सहयोग र विश्वास महत्वपूर्ण रहेको कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो यात्रामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गरेको छ ।
कम्पनीका अनुसार नयाँ विस्तारसँगै अत्याधुनिक प्रविधिको प्रयोगमार्फत कागज प्रशोधन तथा उत्पादनको क्षेत्रमा थप काम अघि बढाउने लक्ष्य राखिएको छ । आगामी दिनमा उत्कृष्ट गुणस्तर, नवीन प्रविधि तथा भरपर्दो सेवा प्रदान गर्दै नेपालको शैक्षिक तथा औद्योगिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिबद्धता पनि कम्पनीले व्यक्त गरेको छ ।
पूजा कापी उद्योग प्रा. लि.को काठमाडौँमा नयाँ भगिनी कम्पनी स्थापनासहितको व्यवसाय विस्तारलाई कम्पनीको आगामी व्यावसायिक यात्राको महत्वपूर्ण चरणका रूपमा लिइएको छ । नयाँ कम्पनीमार्फत कागज प्रशोधन तथा उत्पादनसँग सम्बन्धित थप उत्पादनहरू बजारमा ल्याउने र वितरण सञ्जाललाई विस्तार गर्ने तयारीसमेत अघि बढाइएको कम्पनीले जनाएको छ ।
