बाढी प्रभावित क्षेत्रमा राहत र पुनःनिर्माणका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न एमालेको माग

काठमाडौँ । नेकपा एमाले संसदीय दलका उपनेता पद्माकुमारी अर्यालले रसुवाको भोटेकोसी बाढी पश्चातको राहत, खोज, उद्धार, पुनःनिर्माण र पुनःस्थापनाका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेकी छन् ।

प्रतनिधिसभाको मंगलबारको बैठकमा उपनेता अर्यालले सरकार र अन्य पक्षले राहत, खोज, उद्धार, पुनःनिर्माणका भइरहेका कामलाई तीव्रता दिन विदेशीसमेतको सहयोग समयमा लिनेगरी सरकारले पहल गर्न नसकेको टिप्पणी गरिन् ।

उनले राजनीतिक दल, स्थानीय तह, समुदाय र विभिन्न समूहलाई परिचालन गरेर पुनःस्थापनाका लागि पहल गर्नुपर्ने भूकम्पपछिको पुनः निर्माणको विगतको अनुभवलाई ध्यान दिन आग्रह गर्दै त्यस्ता काममा आफूहरूसरकारसँग हातेमालो गर्न तयार रहेको स्पष्ट गरिन् ।

पुनः निर्माणका लागि स्वायत्त र अधिकारसम्पन्न विशेष निकाय (प्राधिकरण) गठन र अन्तरारष्ट्रिय समुदायको सहयोगमा द्रूत गतिमा काम गर्न सुझाव दिँदै जलवायु परिवर्तनका कारण नेपाले भोग्नुपरेको क्षति र पाउनुपर्ने न्यायबारे सशक्त आवाज उठाउन आग्रह अर्यालले गरिन् । सरकारले बाढीपछि गर्नुपर्ने तत्कालका कामहरू गर्न नसकेको भन्दै उनले केही ठाउँमा चुकेको आरोप लगाइन् ।

उनले भनिन्, ‘सरकारले तत्काल सार्वजनिक आह्वान, अनुरोध, कूटनीतिक पहलमार्फत सहयोग माग गर्नुपथ्र्यो । हामी यहाँ चुक्यौं । हाम्रा विद्यालय वा क्याम्पसका इन्जिनियर वा विभिन्न विज्ञसँग सम्पर्क गरी परिचालन गर्ने कुरामा पनि चुक्यौं ।’
उनले विपद् व्यवस्थापनका लागि संघ, प्रदेश, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज तथा स्वयंसेवी संस्थाबीच प्रभावकारी समन्वय हुन नसकेको बताइन्।

उद्धारका लागि आवश्यक जनशक्ति, हेलिकोप्टर, डुङ्गालगायतका साधन परिचालनमा कमजोरी भएको भन्दै आवश्यक परे अन्य मुलुकसँग समेत सहयोग लिन सरकार हिचकिचाउन नहुने उनको भनाइ थियो।

अर्यालले विपद्को समयमा सरकारले आफूलाई मात्र पर्याप्त ठान्न नहुने बताइन् । उनले भनिन्, ‘यस्तो विपत्तिको बेला म एक्लै काफी छु भन्ने घमण्ड नगर्नुस्।’

प्रधानमन्त्रीको नाममा सञ्चालित सामाजिक सञ्जालका आइडीबाट नागरिकसँग विवाद, गालीगलौज र आक्रोश व्यक्त भइरहेको भए त्यसबारे जिम्मेवारी लिन वा आधिकारिक आइडीबाहेक अन्य आईडी बन्द गराउन उनले आग्रह गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *