काठमाडौँ । अस्पतालको आईसीयूभित्र अन्तर्वार्ता लिइएको विषय संसदमा उठेको छ । मंगलारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले संवेदनशील र जटिल अवस्थामा रहेका बिरामीको उपचार हुने कक्षमा अन्तर्वार्ता लिइएको भन्दै आपत्ति जनाएकी हुन् ।
उनले आईसीयू अस्पतालको अत्यन्त संवेदनशील र जटिल अवस्थामा रहेका बिरामीहरूको उपचारका लागि छुट्याइएको विशेष कक्ष भएको भन्दै उनले यस्तो कक्षमा बिरामीको स्वास्थ्य, गोपनीयता र सङ्क्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिइने बताइन् ।
उनले अस्पतालमा उपचाराधीन बिरामी, त्यसमाथि आईसीयूभित्रै अन्तर्वार्ता लिनु वा लिन स्वीकृति दिनु कति नैतिक अभ्यास हो भन्दै प्रश्न गरेकी छन् ।
उनले भनिन्, ‘आईसीयूमा अन्तरवार्ता लिने दुई बिरामी हुनुहुन्थ्यो कि अन्य बिरामी पनि हुनुहुन्थ्यो ? अन्य बिरामी पनि हुनुहुन्थ्यो भने उहाँहरूको जीवन पनि रिक्समा राख्न मिल्छ कि मिल्दैन ?’
सांसद बास्कोटाले सम्बन्धित निकाय र चिकित्सक स्वीकृति दिने बेला कति गम्भीर बने कि बनेनन् भनि प्रश्न गरिन् । उनले भनिन्, ‘मानिसको जीवनभन्दा ठूलो कुनै कन्टेन्ट, कुनै इन्टरभ्यू र कुनै भ्युज हुँदैन मानव जीवनलाई टीआरपीको मूल्यमा तौलिने काम बन्द हुनैपर्छ ।’
मेडिकल लापरबाहीका विषयमा कानुन बनाउन आवश्य रहेको पनि उनले बताइन् । उनले आईसीयूमा बिरामीको संवेदनशीलता र सुरक्षाको प्रोटोकल कसरी कायम गर्ने भन्ने सम्बन्धमा स्पष्ट मापदण्ड बनाउनुपर्ने बताइन् ।
