काठमाडौँ । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध नियन्त्रणका लागि प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।
एमालेकी सचेतक निता घतानी प्रस्तावक रहेको संकल्प प्रस्तावमा सांसदहरू श्रद्धा कुँवर क्षेत्री, अम्बिकादेवी संग्रौला, रेनुका काउचा, खुश्बु ओली, बलावती शर्मा, र पार्वती विक समर्थक रहेका छन् ।
प्रतिनिधिसभा नियमावली, २०६३ को नियम ७९ बमोजिम छलफलका लागि दर्ता गरिएको प्रस्तावमा संविधानले नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हक, स्वतन्त्रता, समानता तथा महिला र बालबालिकाको अधिकार सुनिश्चित गरे पनि व्यवहारमा महिला तथा बालिकामाथि हुने हिंसा र शोषणका घटना निरन्तर भइरहेको उल्लेख छ।
प्रस्तावमा बालिका तथा किशोरीमाथि हुने यौन अपराधले उनीहरूको मानसिक तथा शारीरिक स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै भविष्यमा दीर्घकालीन प्रभाव पार्ने उल्लेख गरिएको छ।
त्यस्तै, डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै साइबर बुलिङ, चरित्रहत्या र गोपनीयतामाथि हुने अतिक्रमणजस्ता नयाँ प्रकृतिका अपराधले महिलाको सम्मान र गोपनीयतामा गम्भीर असर पुर्याइरहेको प्रस्तावमा जनाइएको छ।
महिला तथा बालिकामाथि हुने हिंसा र यौन अपराध नियन्त्रण तथा साइबर अपराध न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउँदै प्रस्तावमाथि प्रतिनिधि सभामा छलफल गर्न माग गरिएको छ।
प्रस्तावसँग सम्बन्धित मन्त्रालयका रूपमा गृह मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय तोकिएका छन्।
