भारत–चीन सहकार्यबाट नेपालले लाभ लिन सक्नुपर्छः बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्ने बताएका छन् ।

ब्रिक्स प्लस देशहरूको भारतको नयाँदिल्लीमा भइरहेको शिखर सम्मेलनका क्रममा पारित १४० बुँदे प्रस्ताव तथा चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच भएको द्विपक्षीय वार्ताका संकेत सकारात्मक रहेको उल्लेख गर्दै भट्टराईले नेपालले कुनै द्विविधामा नपरी त्यसबाट लाभ लिने गरी अघि बढ्नुपर्ने बताएका हुन्।

सामाजिक संजालमार्फत उनले भारत र चीनबीचको दूरीमा खेलेर क्षणिक सत्तास्वार्थ पूरा गर्न खोज्ने विगतका शासकहरूको गल्तीबाट पाठ सिक्नुपर्ने बताएका छन् । उनले त्यसले अन्ततः नेपाललाई अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फसाएको दाबी गरेका छन् ।

चिनियाँ राष्ट्रपतिले द्विपक्षीय वार्ताका क्रममा ‘दुवै पक्षले रणनीतिक दृष्टिकोणबाट द्विपक्षीय सम्बन्धको दीर्घकालीन विकासलाई ध्यानमा राख्दै’ भन्ने आशयका साथ व्यक्त गरेको भनाइ र भारतको अगुवाइमा सर्वसम्मतिले पारित लामो प्रस्तावको बहुआयामिक दिशालाई नेपालले गम्भीरतापूर्वक बुझ्नुपर्ने भट्टराईले बताएका छन्।

उनका अनुसार साना र कमजोर राष्ट्रले विश्वमा सम्मानजनक उपस्थिति कायम गर्न उच्च तथा दिगो आर्थिक समृद्धिसँगै चातुर्यपूर्ण ‘सफ्ट पावर’ हासिल गर्न आवश्यक छ।

भट्टराईले आगामी दिनमा भारत र चीनबीच सम्भावित बढ्दो ‘प्रतिस्पर्धात्मक सहकार्य’बाट नेपालले लाभ लिनुपर्नेमा जोड दिएका छन्। त्यसका लागि कुशल कूटनीतिक प्रयासमार्फत नेपाललाई दुई छिमेकीबीचको ‘गतिशील सेतु’ बनाउने र अन्ततः ‘शान्ति राष्ट्र’मा रूपान्तरण गर्ने योजनाबद्ध काम तत्काल सुरु गर्नुपर्ने उनको भनाइ छ।

अन्यथा ‘दुई हात्ती लड्दा पनि, मिल्दा पनि घाँसकै नाश’ हुने परम्परागत लोकोक्तिको दुष्परिणाम नेपालले भोग्नुपर्ने चेतावनी दिँदै उनले ‘युवा सत्ताधारीहरू’को यसतर्फ समयमै ध्यान जानुपर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *