सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल कल्भर्टमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार इनरुवा नगरपालिका–३ का सागर रेग्मी र पारस थापाको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनीहरुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
त्यसैगरी मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत बरिपाटीका ५५ वर्षीय आशा बुढाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार सडकपेटीमा हिँडिरहेका बुढा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएपछि माया नर्सिङ होम पुर्याइएको थियो । त्यहाँबाट कर्णाली प्रदेश अस्पताल पुर्याइएकामा निजको उपचारका मृत्यु भएको हो । मोटरसाइकल र त्यसका चालकलाई नियन्त्रणमा लिइएको छ ।
