ललितपुर । सशस्त्र प्रहरी बल नेपालले ललितपुरका विभिन्न स्थानबाट ठूलो परिमाणमा लागूऔषध ट्रामाडोल बरामद गरेको छ। सशस्त्र प्रहरीले सोमबार दुई छुट्टाछुट्टै अपरेसनमार्फत १ लाख ६ हजार ५ सय क्याप्सुल ट्रामाडोल बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोबाट परिचालित विशेष टोलीले विशेष सूचनाका आधारमा ललितपुर महानगरपालिका–९ च्यासलबाट १७ हजार ४ सय क्याप्सुल ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा सुनसरीको धरान महानगरपालिका–१७ घर भई हाल सातदोबाटो बस्दै आएका ३४ वर्षीय सुरेन राई र ललितपुर महानगरपालिका–१२ घर भई हाल शंखमुल बस्दै आएका ३२ वर्षीय सुजित देउला छन्। उनीहरूको साथबाट ५८ बक्समा रहेको १ हजार ७४० फाइल ट्रामाडोल र एउटा स्कुटर बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूबाट प्राप्त सूचनाका आधारमा आजै साँझ प्रहरीले ललितपुर महानगरपालिका–७ डुपाकस्थित एक कोठाबाट थप ८९ हजार १ सय क्याप्सुल ट्रामाडोल बरामद गरेको हो।
प्रहरीका अनुसार काभ्रेको पनौती नगरपालिका–१ पर्खालचौर घर भएका ४२ वर्षीय अर्जुन भुजेलको कोठाबाट २९७ बक्समा रहेको ८ हजार ९१० फाइल ट्रामाडोल बरामद भएको छ। सो क्रममा भुजेललाई पनि नियन्त्रणमा लिइएको छ।
उनको साथबाट दुई थान एन्ड्रोइड मोबाइल, नगद ६ हजार ५०५ रुपैयाँ तथा सुनजस्तो देखिने पहेँलो धातुको पोतेसहितको एक थान तिलहरीसमेत बरामद भएको प्रहरीले जनाएको छ।
बरामद लागूऔषध तथा नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई लागूऔषधको स्रोत, वितरण सञ्जाल र यसमा संलग्न अन्य व्यक्तिबारे थप अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।



