इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो

तेहरान । पश्चिमी इरानमा शनिबार भएको दुर्घटनापछि इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ। घटनामा सात जना घाइते भएको सरकारी समाचार संस्था आईआरआईबीले आइतबार जनाएको छ।

कुर्दिस्तान प्रान्तको सनन्दाज काउन्टी र हमेदान प्रान्तको हमेदान काउन्टीलाई जोड्ने अन्तरप्रान्तीय सडकमा उक्त दुर्घटना भएको हो। दुर्घटनापछि इन्धन ट्यांकरमा भीषण आगलागी भई विस्फोट भएको बताइएको छ।

कुर्दिस्तान युनिभर्सिटी अफ मेडिकल साइन्सेसअन्तर्गतको आपत्कालीन चिकित्सा सेवाका प्रमुख बाबक होदाईलाई उदृत गर्दै आईआरआईबीले घटनापछि आसपासमा रहेका धेरै सवारीसाधनमा समेत आगलागी भएको जनाएको छ।

घटनालगत्तै उद्धार टोली घटनास्थलमा पुगेको थियो। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि कुर्दिस्तान प्रान्तको राजधानी सनन्दाजस्थित अस्पतालमा पुर्याइएको होदाईले बताएका छन्।

दुर्घटनाको कारण र क्षतिको थप विवरणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ। घटनास्थलमा उद्धार तथा खोजी कार्य अझै जारी रहेको अधिकारीहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *