काठमाडौं । करातेकी एरिका गुरुङ र बक्सिङका चन्द्र थापा एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ अन्तर्गत वर्षका उत्कृष्ट महिला तथा पुरुष खेलाडी घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा बिहीबार काठमाडौंमा सम्पन्न एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा एसियाली खेलकुदकी रजत पदक विजेता एरिकाले वर्षको उत्कृष्ट महिला खेलाडीको उपाधि जितेकी हुन् । एरिकाले लगातार तेस्रोपटक उक्त अवार्ड जित्न सफल भएकी छन् ।
उत्कृष्ट महिला खेलाडी विधामा करातेकै सानुमाया थिङ र सविना श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ तथा फुटबलकी साबित्रा भण्डारी (साम्बा) मनोनयनमा परेका थिए ।
एरिकाले गत वर्ष मोरक्कोको रवातमा सम्पन्न कराते वान प्रिमियर लिगको ६८ केजीमाथिको तौल समूहमा कांस्य पदक जितेकी थिइन् । त्यसैगरी उनले टर्कीको इस्तानबुलमा भएको डब्लूकेएफ कराते वान प्रिमियर लिगमा रजत तथा चीनमा सम्पन्न डब्लूकेएफ कराते वान प्रिमियर लिगमा पनि रजत पदक जितेकी थिइन् ।
उनले मलेसियाको क्वालालम्पुरमा सम्पन्न डब्लूकेएफ कराते वान सिरिजमा स्वर्ण पदक जित्नुका साथै थाइल्यान्ड ओपनमा एकल र टिम फाइटतर्फ पनि स्वर्ण पदक जितेकी थिइन् ।
यस्तै, बक्सिङका चन्द्र थापा वर्षको उत्कृष्ट पुरुष खेलाडी घोषित भए । उक्त विधामा एथलेटिक्सका सोमबहादुर कुमाल, करातेका प्रदीप बैजाली मगर, क्रिकेटका दीपेन्द्रसिंह ऐरी तथा गल्फका सद्भाव आचार्य मनोनयनमा परेका थिए ।
चन्द्रले दुबईमा सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आईबा) पुरुष विश्व च्याम्पियनसिपमा कांस्य पदक जित्दै इतिहास रचेका थिए । उनी विश्व बक्सिङमा पदक जित्ने पहिलो तथा हालसम्मका एक्लो नेपाली मुक्केबाज हुन् ।
उक्त उपलब्धिबापत उनले ७५ हजार अमेरिकी डलर पुरस्कार पनि प्राप्त गरेका थिए, जुन व्यक्तिगत रूपमा नेपाली खेलाडीले जितेको अहिलेसम्मकै ठूलो पुरस्कार राशि मानिएको छ ।
हाल चन्द्र जापानमा हुने २०औँ एसियाली खेलकुद प्रतियोगिताको तयारीका लागि वैदेशिक प्रशिक्षणमा रहेका छन्। त्यसैले उनी अवार्ड समारोहमा उपस्थित हुन सकेनन् । उनको अनुपस्थितिमा उनका दाइ तथा बक्सिङ खेलाडी भूपेन्द्र थापाले चन्द्रको अवार्ड ग्रहण गरेका थिए ।
यस्तै राष्ट्रिय भलिबल खेलाडी मीना सुनारले पिपल्स च्वाईतर्फको अवार्ड जितेकी छन् । पिपल्स च्वाइसको मनोनयनमा मीनासहित फुटबलकी पूजा राना, मिक्स मार्सल आट्र्स (एमएमए)का रवीन्द्र ढाँट, क्रिकेटका शेर मल्ल र करातेकी सानुमाया थिङ थिए ।
यस्तै ब्याडमिन्टनका कुमार मोहनबहादुर शाही एनएसजेएफ लाइफटाइम एचिभमेन्ट अवार्ड २०८२ बाट सम्मानित भएका हुन् ।



