भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले सरकारले एसियाली विकास बैंकबाट भोटेकोसी बाढी प्रभावित नागरिकको जीवन रक्षा, तत्काल उद्धार तथा राहतका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर (५० लाख डलर) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

त्यस्तै, भोटेकोशी बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सञ्चालनमा ल्याउन ‘एकीकृत व्यावसायिक पुनस्र्थापना योजना’ लागू गर्ने निर्णय बैठकले गरेको छ ।

यसअन्तर्गत राहत, कर तथा महसुल छुटलगायतका सहुलियत उपलब्ध गराइनेछ । त्यस्तै बैठकले खाद्यान्न आपूर्तितर्फ साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत २५ हजार मेट्रिक टन चिनी १ प्रतिशत भन्सार महसुलमा आयात गर्न स्वीकृति दिएको छ ।

बैठकले खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता तथा खाजा खर्च उपलब्ध गराउने निर्णय पनि गरेको छ । उद्धारका क्रममा घाइते भएमा निःशुल्क उपचार र मृत्यु भएमा परिवारलाई प्रति मृतक १० लाख रुपैयाँ राहत उपलब्ध बैठकले निर्णय गरेको छ ।

यसैगरी, सरकारले २०८३ भदौ २३ गते ‘जेनजी शहीद दिवस’का अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भदौ १० गते रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । सो दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।

मन्त्रिपरिषद्ले नेपाल प्रशासन सेवा, समूहीकरणतर्फका नारायण प्रसाद भट्टलाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्य सचिव पदमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *