म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा भूमि समस्या समाधान समिति पर्वतले जग्गा नापजाँच सुरु गरेको छ ।
भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने उद्देश्यसहित जलजला गाउँपालिका–३ पर्वत बेनीमा बुधबारदेखि नापजाँच सुरु गरेको हो ।
समितिका अध्यक्ष पनि रहेका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले जग्गा नापजाँचको काम सुरु भएको जानकारी दिए । “वडा र गाउँपालिकाले प्रमाणित गरेका निवेदकको जग्गाको स्थलगत नापजाँच गर्न थालिएको छ,” उहाँले भन्नुभयो, “अन्य वडा र पालिकामा पनि सो काम अगाडि बढ्छ ।”
आवश्यक प्रतिवेदन तयार पारी जग्गा पहिचान, कित्ताकाट, सार्वजनिक जग्गालाई सरकारबाट व्यक्तिको नाममा दिन स्रेस्ता कायम गरिनेछ । त्यसपछि पालिकामै पुगेर जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने कार्ययोजना बनाइएको छ ।
यसअघिका जिल्ला भूमि आयोगमा रहेका अभिलेख र निवेदनका आधारमा नापजाँचको काम थालिएको हो । एक हजार ८८ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको निवेदन स्थानीय तहबाट प्रमाणीकरण भएर समितिमा आएको नापी कार्यालय पर्वतका प्रमुख नापी अधिकृत दिनेश लामिछानेले बताए ।
“जलजला गाउँपालिकाबाट ३४० जनाको निवेदन प्रमाणीकरण भएर आएको छ,” उनले भने, “नापजाँचसँगै समितिको कार्यादेश र क्षेत्राधिकार तथा मापदण्डका आधारमा जग्गाधनी प्रमाणपत्र वितरणको तयारी गरिएको छ ।”
नापजाँचपछि विधि, प्रक्रिया र मापदण्डअनुसार दिन मिल्ने जग्गा सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई उपलब्ध गराउने र नमिल्ने सार्वजनिक जग्गा खाली गरी संरक्षण गरिने जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए ।
स्थानीय यमुना परियारले करिब तीन दशकदेखि बस्दै आएको जग्गाको नापजाँच भएपछि लालपुर्जा पाउने आशा पलाएको बताए । “जग्गाधनी प्रमाणपुर्जाको आशमा निवेदन दिएको वर्षांैपछि नापजाँच सुरु भएकामा खुसी लागेको छ,” उहाँले भन्नुभयो, “लालपुर्जा पाउने आशा जागेको छ ।”
