सप्तरी। रामकुमार यादव आफ्ना तीन भाइ एकैपटक घर आउन सक्ने प्रतीक्षामा छन् । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनका यादव परिवारका जेठा छोरा रामकुमारले भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका भाइहरू घर आउन सक्ने प्रतीक्षामा रहेको जानकारी दिए ।
उनका सबै भाइ रसुवास्थित अपरत्रिशूली–१, जलविद्यत् आयोजनामा कार्यरत थिए । माइलो ३५ वर्षीय शिवकुमार यादव सुपरभाइजर, साइँलो ३१ वर्षीय देवकुमार यादव इन्जिनियर र कान्छो २५ वर्षीय सचित ओभरसियर पदमा कार्यरत थिए ।
‘घरमा चुलो नबलेको एक हप्ता भयो, भाइहरूकै सम्झानाले सताइरहेको छ’, रामकुमारले भने । ‘भाइहरू अहिलेसम्म सम्पर्कमा नआए पनि झिनो आशामा उनीहरू घर आउने प्रतीक्षामा हामी छौँ’, उनले भने ।
उनहरूकी ७० वर्षीया आमा छिनछिनमा छोरा ल्याइदेऊ, छोराहरूबिना कसरी बस्नु भन्दै बेलाबेलामा मुर्छित छिन् । स्थानीय विनोद साहले बताए । आमा र सम्पर्कविहीन भएका दाजुभाइका पत्नीहरूको अवस्था पनि दुखद् छ । कतिबेला श्रीमान् भेटिएला र खबर आउँला भन्ने पर्खाइमा उनीहरू कुरिरहेका छन् ।
माइलो, शिवकुमारको विवाह भएको पाँच वर्ष भयो । उनका दुई सन्तानसमेत छन् । साइँलो छोरा देवकुमारको यही वैशाखमा विवाह भएको हो । कान्छो सचित भने अविवाहित थिए । तीन वटै छोराहरू रसुवामा काम गर्न थालेपछि सुखी थियो यादव परिवार ।
शिवकुमारको पत्नीसँग बाढी आएको दिन बिहान भलाकुसारी भएको थिए । बाढी आउने कुनै अत्तोपत्तो थिएन । एक्कासि सम्पर्कविहीन भएको उनकी पत्नीले बताइन्।
बुबा लालबहादुर भने छोराहरूको खोजीका लागि रसुवा गएको चार दिन बित्यो । छोराहरूसँग कतै सम्पर्क हुन सकेन । लालबहादुरले भने ।
उनीहरूको जस्तै विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका ३६ वर्षीय इन्जिनियर अजयकुमार यादवको परिवारको पीडा उस्तै छ । अजय पनि बाढी आएकै दिनदेखि सम्पर्कविहीन थिए । उनी रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालय बोगटीटारमा कार्यरत शिक्षक थिए ।
उनी सोही ठाउँमा डेरा लिएर बस्दै आएका थिए । बाढी आएकै दिनदेखि अजय सम्पर्कमा नआएपछि उनको घरमा सन्नाटा छाएको छ । घरमा चुलोसमेत बल्न सकेको छैन । उनको आमाबुबा छिनछिनमा मुर्छित पर्दै आएका छन् । अन्य परिवार चिन्तामा छन् ।
उनको मामाका छोरा श्यामसुन्दर यादव भाइको खोजीमा रसुवासम्म पुगे । भाइको कुनै पत्तो नलागेको जानकारी दिए । रसुवाकै मेलुङ्ग–५ एमभी हाइड्रोपावरमा कार्यरत सुरुङ्गा नगरपालिका–२ का सरोज चौधरी पनि भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन छन् ।
उनको अवस्थाबारे यथाशीघ्र सार्वजनिक गर्न परिवारले सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ । सुरुङ्गा नगरपालिका–७ बसानपट्टीका एक आमाछोरा पनि बाढीपछि सम्पर्कविहीन छन् । बसानपट्टीका दुर्गानन्द रामकी पत्नी गीता राम र उनका तीन वर्षीय छोरा दिवासकुमार राम बाढीपछि सम्पर्कविहीन छन् ।
दुर्गानन्द राम करिब तीन वर्षअघि मोटरसाइकल ग्यारेजमा काम गर्न नुवाकोटको त्रिशूली बजारमा पत्नी र छोरासहित बस्दै आएका थिए । दुर्गानन्द राम सकुशल रहे पनि आमाछोरा अझै सम्पर्कविहीन छन् ।
यता नुवाकोट, हाइड्रोपावरमा कामदारका रूपमा कार्यरत खडक नगरपालिका–५ रञ्जितपुरका २८ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको पुष्टि भएको छ ।
उनको शव गण्डकी अस्पताल कास्की, पोखरामा पहिचान गरिएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले बताए । उनले भने, ‘बेपत्ताको खोजीकार्य जारी छ । कुनै सूचना आए पीडित परिवारलाई तत्काल जानकारी दिन्छौँ ।’
बाढीका कारण बोदेबरसाइन नगरपालिका आसपासका झन्डै ४८ व्यक्ति अहिलेसम्म सम्पर्कमा आउन नसकेपछि उनीहरूको परिवार पीडामा छ । सुरूङ, टनेलमा फसेकाको तत्काल उद्धार गर्न पीडितपरिवारले सरकारसँग माग गरेका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालयको मङ्गलबारको तथ्याङ्कअनुसार रसुवा बाढीमा १६४ जना अझै सम्पर्कविहीन छन् भने १९५ जना बेपत्ता भएकामा ३० जना सम्पर्कमा आइसकेका छन् । एक जनाको मृत्यु भएको पुष्टि भएको छ । सप्तरीका ४९ जनामध्ये एक जना सम्पर्कमा र एक जनाको मृत्यु भएको छ ।
रसुवा भोटेकोशी नदीमा आएर भएको बाढीले जनधनको क्षति र एक जनाको मृत्यु र ४८ जना सम्पर्कविहीन भएपछि सिङ्गो सप्तरी यतिबेला शोकमा डुबेको छ ।
