काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले भोटेकोशी नदीमा बाढी गएपछि आपूर्ति श्रृङ्खलामा असर पारेकाले यस्तो कठिन परिस्थितिलाई मध्यनजर गर्दै संयमित र जिम्मेवार भई व्यापार, व्यावसाय गर्न उद्योगी व्यवसायीलाई अपील गरेको छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले सोमबार सार्वजनिक अपील जारी गरी प्राकृतिक विपद्का कारणले आपूर्ति प्रणालीमा असर पारेकाले पनि संयमित र जिम्मेवार भएर व्यापार–व्यवसाय गर्न आह्वान गरेका हुन् । उनले विशेष गरी उत्तरी रसुवागढी नाका प्रभावित भई आयात–निर्यात तथा आपूर्ति व्यवस्थामा अवरोध हुन गएकाले आगामी चाडपर्वलाई लक्षित गरेर बजारलाई सहज र व्यवस्थित गर्न अनुरोध गरे ।
विपद्को कठिन परिस्थितिमा व्यवसायीले नाफाभन्दा माथि उठेर सामाजिक जिम्मेवारी निर्वाह गर्नुपर्ने, सरकारले नियन्त्रणभन्दा माथि उठेर सहजीकरण गर्नुपर्ने र उपभोक्ताले अनावश्यक सञ्चय तथा त्रासबाट मुक्त भएर संयमता अपनाउनुपर्ने चेम्बरद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
आगामी तीज, दसैँ, तिहार, छठ, नेपाल संवत्, रमजानलगायत प्रमुख चाडपर्व नजिकिँदै गर्दा बजारमा माग बढ्ने भएकाले आवश्यक वस्तुको नियमित आपूर्ति कायम राख्न, कृत्रिम अभाव तथा मूल्यवृद्धि नगर्न र उपभोक्ताको हितलाई प्राथमिकता दिन आग्रह गरेको छ ।
उद्योगी, व्यवसायी, आयातकर्ता, वितरक, थोक तथा खुद्रा व्यवसायीलाई आफ्नो व्यावसायिक गतिविधि जिम्मेवारीपूर्वक सञ्चालन गर्न आग्रह गर्दै चेम्बरले अवरुद्ध राजमार्गका विकल्पमा वैकल्पिक आपूर्ति मार्गको प्रयोग, पर्याप्त भण्डारण तथा प्रभावकारी वितरण प्रणालीको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको छ ।
