काठमाडौँ । अमेरिकाले बाढी प्रभावित नेपालीका लागि आपत्कालीन राहत सामग्रीको पहिलो खेप नेपाल पठाएको छ।
अमेरिकी दूतावासका चार्जे द अफेयर्स स्कट अर्बोमले शुक्रबार अमेरिकाबाट पठाइएको राहत सामग्रीको पहिलो खेप पठाएका हुन्।
अमेरिकाले नेपाल सरकारको अनुरोधअनुसार आवश्यक राहत सामग्री उपलब्ध गराउँदै आएको र सहायता आवश्यकतामा रहेका नागरिकसम्म पुर्याउन नेपालसँग सहकार्य गरिरहेको जनाएको छ।
कारितास नेपालको कार्यान्वयन साझेदारीमा क्याथोलिक रिलिफ सर्भिसेसले रसुवाका दुई विद्यालयमा २.५ मेट्रिक टनभन्दा बढी खाद्य सामग्री, ५०० थान कम्बल, ५०० थान झुल र अस्थायी आश्रयस्थलको भुइँमा प्रयोग हुने ५०० थान इन्सुलेटिङ फोम सिट उपलब्ध गराउनेछ।
अमेरिकी दूतावास नेपालले नेपाल सरकार, क्याथोलिक रिलिफ सर्भिसेस र कारितास नेपालसँग समन्वय गरी नेपालको आवश्यकता अनुसार थप राहत सामग्री पठाउने तयारी भइरहेको जनाएको छ।





