काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको घरबाट नियन्त्रणमा लिइएका सामानसहित उपस्थित हुन आदेश दिएको छ ।
सोमबार सर्वोच्चका न्यायाधीश नृपध्वज निरौलाको इजलासले भदौ ४ गते प्रसाईंको घरबाट नियन्त्रणमा लिइएका सामानसहित उपस्थित हुन जिल्ला प्रहरी परिसर भक्तपुरलाई पत्राचार गर्न आदेश दिएको हो ।
परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रसाईंको घरबाट मोबाइल, ल्यापटप र सिसीटिभीको रेकर्डर रहने डिभाइस नियन्त्रणमा लिएको थियो । त्यसविरुद्ध प्रसाईंकी पत्नी उमाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

