काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। २०७३ सालमा गठन भएको उच्चस्तरीय जाँचबुझ आयोग (लाल आयोग) ले बुझाएको प्रतिवेदन हालसम्म सार्वजनिक हुन नसकेको भन्दै थापाले अब थप ढिलाइ गर्न नहुने बताएका हुन्।
उनले २०७४ सालदेखि नै हरेक वर्ष लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने आवाज उठ्दै आएको उल्लेख गर्दै राजनीतिक दलहरूले सरकारमा जानुअघि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाउने तर सरकारमा पुगेपछि कार्यान्वयन गर्न नसक्ने अवस्था दोहोरिँदै आएको बताए ।
‘अब त एक दशक बित्न लागिसक्यो,’ थापाले भनेका छन्। प्रतिवेदन सार्वजनिक नहुँदा घटनाको सत्यतथ्य पूर्ण रूपमा बाहिर आउन नसकेको र पीडितहरू न्यायबाट वञ्चित भइरहेको उनको भनाइ छ।
विगतका सरकारले प्रतिवेदन सार्वजनिक गर्न नसकेको कमजोरीलाई अहिले पनि प्रतिवेदन सार्वजनिक नगर्ने कारण बनाउन नहुने थापाले बताएका छन्।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अब थप विलम्ब नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेका छन्। ‘सत्य जान्ने अधिकार नागरिकको हो, न्याय पाउने अधिकार पीडितको हो,’ थापाले भनेका छन्।
