असोजभित्र ७७ जिल्लामा तदर्थ समिति गठन गर्ने जय नेपाल पार्टीको निर्णय

काठमाडौं । जय नेपाल पार्टीले भदौ र असोजभित्र देशका ७७ वटै जिल्लामा तदर्थ जिल्ला कार्यसमिति गठन गर्ने निर्णय गरेको छ ।

सभापति डा. धवलशम्सेर राणाको अध्यक्षतामा बिहीबार काठमाडौंमा बसेको पार्टीको प्रथम केन्द्रीय कार्यसमिति बैठकले संगठन विस्तारसँगै युवा, महिला तथा जेन–जीसहितका जनवर्गीय संगठन, विभाग र समितिहरू गठन गर्ने निर्णय गरेको हो । बैठकले जिल्ला कार्यसमिति गठनका लागि केन्द्रीय सदस्यहरूलाई समेत समावेश गरी टोली खटाउने निर्णय गरेको छ ।

यस्तै, भदौभित्रै केन्द्रीय तहमा युवा, महिला तथा जेन–जीसहितका जनवर्गीय संगठन तथा विभाग गठन गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ । पार्टीले संवैधानिक राजसंस्था र हिन्दू अधिराज्यका पक्षमा जनमत सिर्जना गर्न देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ ।

संविधान निर्माणका क्रममा जनताबाट प्राप्त सुझावलाई बेवास्ता गरिएको दाबी गर्दै ती सुझावलाई सम्बोधन हुने गरी संविधान संशोधनका लागि सरकारमाथि जनदबाब सिर्जना गर्ने निर्णय बैठकले गरेको हो ।

सरकारले संविधान संशोधनका लागि राय–सुझाव संकलन गरिरहेको सन्दर्भमा पार्टीले संवैधानिक राजसंस्था र हिन्दू अधिराज्यका पक्षमा सकारात्मक दबाब सिर्जना गर्ने जनाएको छ ।

यस्तै, राष्ट्रिय जनावर गाईको संरक्षणका लागि दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । पार्टीले गौहत्या तथा गाईको मासुको बिक्री–वितरण र खपतमा रोक लगाउन राज्य तथा सम्बन्धित पक्षमाथि दबाब सिर्जना गर्ने जनाएको छ ।

गौसंरक्षणसम्बन्धी अभियान तथा प्रदर्शनको नेतृत्व जनवर्गीय संगठनहरूले गर्ने र सातवटै प्रदेशमा सुविधासम्पन्न गौशाला निर्माणका लागि राज्यलाई दबाब दिन जनमत सिर्जना गर्ने पार्टीको निर्णय छ ।

बैठकले भदौभित्रै अनलाइनमार्फत पार्टी सदस्यता लिन सकिने विद्युतीय प्रणाली निर्माण गर्ने तथा पार्टीभित्र प्रशिक्षण सञ्चालनका लागि आवश्यक सामग्री तयार गर्न कार्यदल गठन गर्ने निर्णयसमेत गरेको छ ।

जय नेपाल पार्टीले सनातन धर्म, संवैधानिक राजसंस्था र प्रजातन्त्रलाई आधार बनाएर हिमाल, पहाड र तराईलाई एकसूत्रमा बाँध्दै राष्ट्रिय एकता, स्थिरता र समुन्नतिको लक्ष्य हासिल गर्ने उद्देश्यसहित आफूलाई राष्ट्रवादी पार्टीका रूपमा अघि सारेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *