काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशमा नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्री बनाउन आफ्नो पार्टीका सांसदहरूले समर्थन गरेको भन्ने पत्रप्रति आपत्ति जनाएको छ ।
राप्रपाका महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले बुधबार बागमती प्रदेश प्रमुखलाई पत्र पठाउँदै पार्टीको निर्णय र निर्देशनबिना थापालाई समर्थन रहेको भन्दै बुझाइएको पत्रलाई मान्यता नदिन आग्रह गरेका हुन् ।
राप्रपाको कार्यसम्पादन समितिको साउन २० गते बसेको बैठकले वर्तमान परिस्थितिमा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको पत्रमा उल्लेख छ । प्रदेश सरकारका सम्बन्धमा निर्णय गर्नुपर्ने अवस्था आए पार्टीको वृहत्तर हितलाई ध्यानमा राखी उपयुक्त निर्णय गर्ने जिम्मेवारी अध्यक्षलाई दिइएको पनि राप्रपाले जनाएको छ ।
त्यस्तै, बागमती प्रदेशसभामा सरकार निर्माणसम्बन्धी मतदान तथा समर्थन प्रक्रियामा अर्को निर्देशन प्राप्त नभएसम्म तटस्थ रहन पार्टीको संसदीय दलका नेतालाई निर्देशन दिइएको राप्रपाले स्पष्ट पारेको छ ।
पार्टीको निर्णयविपरीत राप्रपाका सदस्यहरूको समर्थन रहेको भन्दै पत्र बुझाइएको भन्दै राप्रपाले उक्त पत्रमा आफ्नो सहमति नरहेको जनाएको हो । पार्टीको आधिकारिक निर्णय र निर्देशनबिना बुझाइएको पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखसमक्ष अनुरोध गरिएको छ।
यता राप्रपा बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापाले नेकपा एमालेका प्रदेशसभा सदस्य किरण थापा मगरलाई मुख्यमन्त्री बनाउन समर्थन रहेको जनाउँदै प्रदेश प्रमुखसमक्ष पत्र बुझाएका छन् । बुधबार प्रदेश प्रमुखको कार्यालयमा बुझाइएको पत्रमा संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनका लागि एमालेका तर्फबाट मुख्यमन्त्री पदमा प्रस्तावित थापा मगरलाई राप्रपाका १२ जना प्रदेशसभा सदस्यको समर्थन रहेको उल्लेख गरिएको छ ।


