संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक सवा १ बजेका लागि बोलाइएको छ ।

प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयकमाथि छलफल अघि बढाउने कार्यसूची रहेको छ । बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ ।

त्यसैगरी महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ । उनले नै ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्नेछिन् ।

परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्नेछन् ।

यस्तै, राष्ट्रियसभा बैठकमा ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेस हुने भएको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उक्त प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *