बोगोटा । कोलम्बियामा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
भूकम्पको केन्द्रबिन्दु राजधानी बोगोटाबाट करिब २८० किलोमिटर पश्चिममा रहेको उत्तरपश्चिमी चोको विभागको सान होसे डेल पालमार क्षेत्रमा रहेको थियो ।
भूकम्पको धक्का राजधानी बोगोटासहित विभिन्न क्षेत्रमा तीव्र रूपमा महसुस गरिएको थियो । सावधानीस्वरूप साइरन बजाइएपछि मानिसहरू घर तथा भवनबाट बाहिर निस्केर सडकमा पुगेका थिए । चोकोका गभर्नरका अनुसार क्षेत्रीय राजधानी क्विब्डोमा भूकम्पका कारण ठूलो क्षति भएको छ। त्यहाँ मानिसहरू घाइते हुनुका साथै भवनहरूमा गम्भीर क्षति पुगेको बताइएको छ ।
क्षतिको अवस्था र उद्धार तथा राहत कार्यबारे समन्वय गर्न नवनिर्वाचित राष्ट्रपति अबेलार्डो डे ला एस्प्रिएलाले आपत्कालीन समितिको बैठक बोलाएका छन् । भूकम्पपछि उद्धार तथा क्षतिको मूल्यांकनका काम जारी रहेकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।
