टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द

बेइजिङ। टाइफुन डल्फिन चीनको पूर्वी तटतर्फ अघि बढेपछि अधिकारीहरूले उच्च सतर्कता अपनाएका छन्। आँधीको जोखिमलाई ध्यानमा राख्दै विद्यालय तथा पर्यटकीयस्थलहरू बन्द गरिएको छ।

आँधीको अधिकतम निरन्तर हावाको गति करिब १६२ किलोमिटर प्रतिघण्टा पुग्ने अनुमान गरिएको छ। आँधीसँगै भारी वर्षा हुने र त्यसबाट बाढी तथा पहिरोको जोखिम बढ्ने अधिकारीहरूले बताएका छन्।

टाइफुन आइतबार राति झेजियाङ प्रान्त तथा छिमेकी फुजियान प्रान्तको उत्तरी क्षेत्रमा पुग्ने अनुमान गरिएको छ। चीनको प्रमुख आर्थिक सहर साङ्घाई पनि आँधीको सम्भावित मार्गमा रहेको छ।

अधिकारीहरूले टाइफुनको जोखिमलाई ध्यानमा राख्दै तेस्रो तहको आपत्कालीन प्रतिक्रिया घोषणा गरेका छन्। चीनको चार तहको आपत्कालीन प्रणालीमा यो दोस्रो न्यून स्तर हो।

झेजियाङ प्रान्तका धेरै पर्यटकीयस्थल शनिबार र आइतबार बन्द गरिएको छ। फेरि तथा क्रुजलगायत पानीमा सञ्चालन हुने सबै गतिविधि पनि रोकिएको छ।

प्रान्तको प्रमुख सहरमध्ये एक निङ्बोमा सप्ताहन्तभर विद्यालय तथा अन्य शैक्षिक संस्था बन्द गर्न आदेश दिइएको छ।

अधिकारीहरूले भारी वर्षा र तीव्र हावाबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न आवश्यक सुरक्षा तथा उद्धार तयारीलाई तीव्र बनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *