जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिवद्वारा पत्रकार गजुरेललाई धम्की, कारबाही गर्न पत्रकार महासंघको माग

काठमाडौँ । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईद्वारा जारी विज्ञप्तिमा नेपाल पत्रकार महासंघ युरोपका पूर्वउपाध्यक्ष तथा नेपाल समाचारपत्र का युरोप प्रतिनिधि दीपेन्द्र गजुरेलले समाचारसम्बन्धी फलोअप प्रतिक्रिया (बाइट) लिन सम्पर्क गर्दा प्रथम सचिव यादवले धम्कीपूर्ण अभिव्यक्ति दिएको उल्लेख गरिएको छ।

विज्ञप्तिअनुसार यादवले गजुरेललाई, “तपाईं कुन ठाउँमा बसेर पत्रकारिता गर्दै हुनुहुन्छ, थाहा छ? म अबदेखि तपाईंको फोन उठाउँदिन। थप समाचार लेख्नुभयो भने तपाईंलाई गाह्रो पर्छ, ब्याक फायर गर्छु,“ भनेका थिए।

उक्त अभिव्यक्तिलाई पत्रकारमाथिको मानसिक त्रास सिर्जना गर्ने, स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण तथा कूटनीतिक आचरणविपरीतको कार्य भएको भन्दै विज्ञप्तिमा घोर भत्र्सना गरिएको छ।

पत्रकारिताको व्यावसायिक दायित्व निर्वाह गर्ने क्रममा जिम्मेवार सार्वजनिक पदमा रहेका व्यक्तिबाट यस्तो व्यवहार हुनु निन्दनीय र गम्भीर विषय भएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमार्फत महासंघले नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित निकायसँग घटनाको तत्काल निष्पक्ष छानबिनको माग गरेको छ। साथै, विदेशमा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरूको सुरक्षा, सम्मान र भयरहित वातावरणमा काम गर्न पाउने अधिकार सुनिश्चित गर्न पनि आग्रह गरिएको छ।

पत्रकार गजुरेलले गत हप्ता राजदूतावासले कर्मचारी भर्ना गर्न निकालेको सूचना अनधिकृत तोडमोड गरेको प्रमाणसहित समाचार लेखेको थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *