काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला घटनाप्रति दुःख व्यक्त गर्दै राज्यले समस्याको समाधानका लागि बल प्रयोगभन्दा संवाद र सामाजिक विकासलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद सिंहले पछिल्लो घटनामा ज्यान गुमाएका चार जना युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे ।
उनले देशको अहिलेको आवश्यकता सामाजिक सद्भाव कायम गर्नु र गरिबी, पछौटेपन तथा असमानताविरुद्ध लड्नु रहेको उल्लेख गरे । सांसद सिंहले समुदाय–समुदायबीच द्वन्द्व सिर्जना गर्ने समय नभएको भन्दै सबै पक्षलाई संयमित हुन आग्रह गरे ।
सांसद सिंहले मधेशमा हुने आन्दोलन र घटनाका क्रममा राज्यले गर्ने बल प्रयोगको शैलीमाथि प्रश्न उठाए । उनले सुरक्षाकर्मीले प्रदर्शन नियन्त्रणका लागि लाठीचार्ज, अश्रुग्यासलगायतका वैकल्पिक उपाय प्रयोग गर्नुपर्नेमा सिधै गोली चलाउने अवस्था अन्त्य हुनुपर्ने बताए ।
उनले नेपालमा सुरक्षाकर्मीलाई दिइने तालिम र भीड नियन्त्रणको अभ्यासमा सुधार आवश्यक रहेको उल्लेख गर्दै मधेशमा सुरक्षा निकायप्रति विश्वासको वातावरण बनाउनुपर्ने बताए ।
सांसद सिंहले सरकारले सुरक्षाकर्मी परिचालनमा देखाउने तत्परता शिक्षा, स्वास्थ्य र विकासका क्षेत्रमा पनि देखाउनुपर्ने बताए । मधेशमा हजारौँ सुरक्षाकर्मी परिचालन गरिए पनि शिक्षक, चिकित्सक र इन्जिनियर परिचालनमा ध्यान नदिएको उनको आरोप थियो ।
उनले मधेशलाई पछाडि पार्ने र समस्या उत्पन्न भएपछि मात्र बल प्रयोग गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । मधेश अब धेरै सहन सक्दैन भन्दै उनले सरकारलाई गम्भीर बन्न आग्रह गरे ।
