मस्को। हालै मस्को बाहिर पक्राउ गरिएका रुसी युद्धविरोधी राजनीतिज्ञ बोरिस नादेज्दिनले सोमबार देश छाडेको घोषणा गरेका छन् । पेरिसबाट पोस्ट गरिएको भिडियोमा उनले यो घोषणा गरेका हुन् । उनलाई संसद् चुनाव लड्नबाट रोक लगाइएको थियो ।
नादेज्दिन देशमै बसेर राष्ट्रपति भ्लादिमिर पुटिन र मस्कोको युक्रेन आक्रमणको खुलेआम आलोचना गर्ने थोरै राजनीतिज्ञहरूमध्ये एक मानिन्छन् ।
पुटिनका लगभग सबै आलोचकको मृत्यु भएको, जेलमा थुनिएको र निर्वासनमा रहेको पाइन्छ । नादेज्दिन सेप्टेम्बरमा कडा नियन्त्रित संसदीय चुनावमा उम्मेदवारी दिन खोजिरहेको समय उनलाई मस्कोबाट पक्राउ गरी एको थियो ।
गत महिना उनको अभियान तीव्र भएपछि अधिकारीहरूले उनलाई ‘विदेशी एजेन्ट’ विल्ला लगाएर छोटो समयका लागि पक्राउ गरेका थिए । त्यसपछि उनी विरूद्ध ‘चरमपन्थी प्रतीक’ प्रदर्शन गरेको आरोपमा एक हजार रुबल (१३ डलर) जरिवाना तोकिएको थियो । त्यो नाटकीय सुनुवाइमा उनको रक्तचाप बढेपछि प्यारामेडिकहरूलाई बोलाइएको थियो।
दबाबका बीच उनले आफ्नो अभियान छाड्ने घोषणा गर्दै बिदेसिएका छन् । सोमबार उनले आफ्नो टेलिग्राम च्यानलमा भिडियो पोस्ट गर्दै भने, “मसँग केही राम्रो खबर छ । म जीवित र स्वतन्त्र छु । दुर्भाग्यवश, रुसमा होइन।”
उनले भनेका छन्, ‘अहिले मलाई आफूलाई व्यवस्थित गर्न र अगाडि कसरी बढ्ने भन्ने कुरा बुझ्न आवश्यक छ। मेरो योजनाबारे पछि लेख्नेछु ।’
नादेज्दिनले मस्को बाहिरको डोल्गोप्रुड्नी सहरमा सांसद बन्न अभियान चलाउँदै आएका थिए । उनले गत महिना एएफपीसँग भनेका थिए, ‘अधिकारीहरूले उहाँलाई निसाना बनाएका थिए किनकि उनीहरू उनको लोकप्रियताबाट ‘चिन्तित’ थिए ।’
पूर्व नगरपालिका सल्लाहकारले सन् २०२४ मा पुटिनविरुद्ध राष्ट्रपति पदमा उम्मेदवारी दिन प्रयास गरेका थिए उनले समर्थनका लागि दशौँ हजार हस्ताक्षर जम्मा गरेका थिए तर पछि उनलाई मतदानबाट रोक लगाइएको थियो । रुसले सन् २०२२ मा युक्रेन आक्रमण सुरु गरेदेखि असहमतिमाथि ठुलो दमन अभियान चलाएको छ।
