‘सुस्तामा भारतीय पक्षको व्यवहारप्रति सरकारको धारणा के ?’

काठमाडौँ । राष्ट्रियसभाको सोमबारको बैठकमा सांसदहरूले जनताको विश्वास र अपेक्षा बमोजिम काम गर्न सरकारलाई आग्रह गरेका छन्। सभाको विशेष समयमा सदस्यहरूले सरकारबाट जनताले आफ्ना हरेक समस्याको समाधान खोज्ने भएकाले जनअपेक्षा बमोजिम काम गर्नुपर्ने बताए।

बैठकमा सांसद पूजा चौधरीले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा देखिएको सीमा विवाद र भारतीय पक्षको हस्तक्षेपप्रति सरकारको ध्यानाकर्षण गराइन् । चौधरीले सुस्ता गाउँपालिका–५ को थारु टोलमा नेपाली भूमिमा निर्माणाधीन १३२ मिटर लामो अस्थायी बाँधलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भत्काउन थालेपछि स्थानीय नागरिक र एसएसबीबिच विवाद उत्पन्न भएको जानकारी गराइन् । उनले भनिन्,‘सुस्ता नेपालको राष्ट्रियता, सार्वभौमिकता र सीमासँग जोडिएको अत्यन्तै संवेदनशील विषय हो । यस्तो अवस्थामा भावनात्मक प्रतिक्रियाभन्दा पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर संयमित र जिम्मेवार ढङ्गले कूटनीतिक पहल गरी समाधान खोज्न म सरकारसँग माग गर्दछु।’

नेपाली कांग्रेसका सांसद युवराज शर्माले स्थापित राजनीतिक दल र नेतृत्वलाई बिर्सिएर अचानक उदाएका शक्तिहरूबाट मुलुकको रूपान्तरण सम्भव नहुने बताए । उनले बिपी कोइराला, गणेशमान सिंह र पुष्पलाल जस्ता नेताहरूले त्याग गरेर निर्माण गरेको लोकतान्त्रिक जगलाई नजर अन्दाज गर्न नमिल्ने बताए । उनले भने, ‘अकस्मात् धुरन्धर बनेर उदाएकाहरूको परीक्षण नागरिकले मतदानमार्फत गरिसकेका छन्। त्यसको प्रारम्भिक नतिजा देखिइसकेको छ, अन्तिम नतिजा हेर्न केही समय कुर्नैपर्छ।’ शर्माले इतिहास र त्यागको जग नभएका शक्तिहरूले दिगो परिवर्तन ल्याउन नसक्ने दाबी गरे ।

नेपाली कम्युनिस्ट पार्टीकी सांसद राजेन्द्रलक्ष्मी गैरेले नेपाल मानव तस्करहरूको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको बताइन् । सांसद गैरेले पछिल्लो समय प्रविधिको प्रयोगबाट मानिसहरू बेचबिखनको जालमा परिरहेको बताइन् ।

नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले नेपाली जनताले विश्वासका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारको नेतृत्वमा पुर्याएकाले जनताको चाहना र भावना बमोजिम काम गर्न आग्रह गरे। उनले मुलुकको स्वतन्त्रता र लोकतन्त्रका लागि त्याग र समर्पण गरेका नेताहरूको आदर्शबाट सकारात्मक पाठ सिकेर जनहितमा केन्द्रित हुँदै समस्या समाधानतर्फ लाग्नुपर्ने धारणा राखे।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद रूक्मिणि कोइरालाले नेपाल बहुजाति, बहुभाषिक, बहुसांस्कृति, बहुधार्मिक साझा फूलबारी भएकाले एकापसमा समन्वय र भाइचारका साथ सबै जातीय र साम्प्रदाय सहकार्य गर्नुपर्ने धारणा राखिन् ।

उनले सरकारले जनजीवनका सवालमा वास्तविक समस्या पहिचान गरी सोही आधारमा समाधानका लागि राहतमूलक काम गर्नुपर्नेमा जोड दिए। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद श्रीकृष्णप्रसाद अधिकारीले सुनसरीसहितका जिल्लामा भएका घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरे।

नेपाली कांग्रेसका सांसद धर्मेन्द्र पासवानले संवाद, मेलमिलाप र समन्वयनका माध्यमबाट मुलुकमा शान्ति र समृद्धि हासिल गर्न सबैको ध्यान जानुपर्नेमा जोड दिए। नेकपाका सांसद भुवनबहादुर सुनुवारले मिटरब्याज पीडितहरू अझै माइतीघर मण्डलामा रहेकाले उनीहरूको माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराए।

एमालेका सांसद रेखाकुमारी झाले नेपाल–भारत खुला सीमाको दुरूपयोग गरी चोरीपैठारी र आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सरकारले ध्यानाकर्षण गराइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *