ग्रीसमा डढेलो निभाउने क्रममा दुई हेलिकोप्टर ठोक्किँदा दुई जनाको मृत्यु

बीबीसी । ग्रीसमा डढेलो नियन्त्रण गर्ने क्रममा दुई हेलिकोप्टर आकाशमै एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने बेलायती पाइलटसहित दुई जनाको जीवितै उद्धार गरिएको छ ।

मृत्यु हुनेमा डेनमार्कका पाइलट र ग्रीसको अग्नि सेवा विभागका सम्पर्क अधिकृत रहेका छन्। दोस्रो हेलिकोप्टरमा रहेका बेलायती पाइलट र एक ग्रीक समन्वयकर्ता भने सामान्य घाइते भएका छन्।

राजधानी एथेन्सबाट करिब ६५ किलोमिटर पश्चिममा आइतबार भएको दुर्घटनामा एउटा बेल हेलिकोप्टरले अर्को हेलिकोप्टरको रोटरमा ठोक्किएपछि आगो लागेर भीरमा खसेको थियो। अर्को हेलिकोप्टरले भने आपतकालीन अवतरण गर्न सफल भएको थियो।

ग्रीसको अग्नि सेवा विभागका अनुसार अस्ट्रेलियाली कम्पनी म्याकडर्मोट एभिएसनबाट भाडामा लिइएका दुई बेल हेलिकोप्टर अटिका–बोयोटिया सीमामा फैलिएको ठूलो डढेलो नियन्त्रणमा खटिएका बेला दुर्घटनामा परेका हुन्।

एउटा हेलिकोप्टरका चालक दलका सदस्यलाई जीवित उद्धार गरिएको भएपनि अर्को हेलिकोप्टरमा रहेका दुई जनालाई अचेत अवस्थामा फेला पारिएको थियो। अस्पताल पुर्याइएपछि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।

ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्।

दुर्घटनापछि सुरक्षा प्रोटोकलअनुसार देशभर सञ्चालनमा रहेका सबै बेल हेलिकोप्टरको उडान तत्कालका लागि रोकिएको ग्रीसको नागरिक सुरक्षा मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *