काठमाडौँ । देशमा दिगो शान्ति, एकता, भाइचारा र सद्भाव कायम राख्ने उद्देश्यले नेपाल बौद्ध महासंघले बौद्ध महाचैत्य परिसरस्थित बौद्ध घ्याङ गुठी गोन्पामा दीप प्रज्वलन तथा विशेष शान्ति प्रार्थना कार्यक्रम आयोजना गरेको छ । विभिन्न गोन्पाका धर्मगुरु, खेन्पो, लोपोन र लामाहरूको उपस्थितिमा प्रार्थना गरिएको हो ।
सुनसरी, सिरहालगायत पूर्वी तराईमा भएका पछिल्ला हिंसात्मक घटनाप्रति महासंघले गहिरो दुःख व्यक्त गरेको छ । महासंघले मृतकहरूप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
बहुसांस्कृतिक नेपालमा यस्ता हिंसात्मक घटनाले धार्मिक सहिष्णुतामा आघात पुर्याउने भन्दै महासंघले सामाजिक सद्भाव जोगाउनु सबैको साझा दायित्व भएको बताएको छ ।
महासंघले सम्पूर्ण नागरिक, राजनीतिक दल, नागरिक समाज र सरोकारवालालाई संयम अपनाएर शान्तिको पक्षमा उभिन अपिल गरेको छ । साथै, सम्पूर्ण गोन्पा, विद्यालय र बौद्ध समुदायलाई दिगो शान्तिका लागि विशेष प्रार्थना गर्नसमेत आग्रह गरिएको छ ।






