काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले सुनसरी घटनाबारे राजनीतिक दलहरूले जारी गरेका विज्ञप्तिमा घटनाको वास्तविक स्वरूप स्पष्ट नभएको बताएकी छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले घटनाको चर्चा गरेपनि वास्तवमा के भएको थियो भन्ने विषयमा स्पष्ट रूपमा बोल्ने साहस कसैले नगरेको टिप्पणी गरिन् ।
उनले भनिन्, ‘सबैजनाले घटना घटना भन्नुभयो तर घटना के भएको रहेछ भनेर हिम्मत कसैमा छैन । सत्तारुट दललगायत अन्य दलहरूले आफ्नो प्रेस विज्ञप्तिमा सुनसरीको घटनालाई संवेदनशील र दुखद घटना उल्लेख गरेको छ । तर कुन घटनाको कुरा गरिएको हो, स्पष्ट छैन ।’
उनले घटनाको पृष्ठभूमि कस्तो थियो वा घटना धार्मिक विषयसँग सम्बन्धित थियो वा थिएन भन्नेबारे कुनै स्पष्ट जानकारी नदिएको दाबी गरिन् ।
कुनै पनि प्रभावशाली राजनीतिक दलले आफूले चर्चा गरिरहेको घटनाको स्वरूप नै स्पष्ट रूपमा उल्लेख गर्न नसके वस्तुनिष्ठ विश्लेषण सम्भव नरहेको बताइन् ।
उनले यस्तो घटना हुँदा पनि प्रधानमन्त्री खोपीमा बसेको भन्दै आपत्ति जनाइन् । उनले भनिन्, ‘योभन्दा डरलाग्दा घटनाहरू भएका थिए। तर ती समयमा प्रधानमन्त्रीहरूले सम्बोधन गर्थे, राष्ट्राध्यक्षका रूपमा रहेका राजाले सम्बोधन गर्थे। तर आज उहाँ कुन खोपीमा बसिरहनुभएको छ। आफ्नो फेसबुकको प्रशासन प्रणालीमार्फत गोली प्रहारबाट ज्यान गएको स्वीकार गर्नुभएको छ। यदि गोली प्रहरीले चलाएको हो भने, त्यसको आदेश कसले दियो ?’
