काठमाडौं । नेपाल चिकित्सक संघको अगुवाइमा चिकित्सकहरुले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन गरेका छन् ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही माग गर्दै बुधबार चिकित्सकहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।
आक्रमणमा गम्भीर घाइते भएका मेडिकल अफिसर डा.प्रमोद रामको हाल काठमाडौंस्थित राष्ट्रिय ट्रमा उपचार भइरहेको छ ।
नेपाल चिकित्सक संघका कोषाध्यक्ष डा. तेजसुसिंह मल्लले दोषीलाई पक्राउ गरी कानुनी दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग आग्रह गरे । मंगलबारदेखि देशव्यापी रूपमा ओपिडी सेवा बन्द गरेर चिकित्सक आन्दोलनमा उत्रिएका छन् ।
