काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीसहित पूर्वी जिल्लामा हालै भएका हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टी सभापति रवि लामिछानेले मंगलबार विज्ञप्ति जारी गरी कुनै पनि समस्या वा विवादको समाधान हिंसाबाट सम्भव नभएको उल्लेख गर्दै सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका हुन् ।
साथै, अफवाह र उत्तेजनाबाट टाढा रहन आमनागरिक, धार्मिक तथा सामाजिक अगुवा र सरोकारवाला पक्षसँग पनि उनले अपील गरेका छन् । सभापति लामिछानेले संवेदनशील परिस्थितिमा तत्काल शान्ति सुरक्षा कायम गर्न, आमनागरिकको जिउधनको रक्षा गर्न र परिस्थितिलाई सामान्यीकरण गर्न सरकार र स्थानीय प्रशासनसँग निरन्तर सहजीकरणमा रहेको उल्लेख गरेका छन् ।
उनले यस घटनाको जरोसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीउपर कडा कानुनी कारबाही गर्न र पीडित पक्षलाई उचित न्याय तथा राहत (क्षतिपूर्ति र निःशुल्क उपचार) उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टी शान्ति, न्याय र सामाजिक सदभावको पक्षमा सदैव अडिग छ। परिस्थितिलाई सामान्य बनाउन र आपसी संवादमार्फत् समस्याको शान्तिपूर्ण समाधान खोज्न पार्टीको तर्फबाट आवश्यक हरेक सकारात्मक भूमिका निर्वाह गर्न हामी निरन्तर छलफलमा रहेका छौं । यस अत्यन्तै संवेदनशील र दुःखद घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न हामी सबै राजनीतिक दल तथा सम्बद्ध पक्षहरूसँग विशेष आग्रह गर्दछौं। रास्वपाका स्थानीय समितिका सम्पूर्ण सदस्यहरु लगायत सम्पूर्णलाई शान्ति र सदभाव कायम राख्न सहयोगी भूमिका खेल्न यसै विज्ञप्तिमार्फत् विशेष निर्देशन दिइन्छ।’

