कांग्रेस–एमाले सहकार्य असम्भव भएपछि एमालेसँग सहमतिः नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता नारायणकाजी श्रेष्ठले आफूहरु तत्काल प्रदेशसभा विघटनमा जान नदिनका लागि सरकारमा सहभागी हुने बाध्यात्मक निर्णय लिनु पर्ने स्थितिमा पुगेको बताएका छन् ।

शनिबार नेकपा एमालेसँग भएको तीन बुँदे सहमतिबारे सामाजिक संजालमार्फत स्पष्टीकरण दिँदै श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले कांग्रेस र एमाले सँगै बस्ने स्थिति नहुँदा एमालेसँग आफूहरुले सहमति गर्नुपरेको बताए । उनले भनेका छन्, ‘हिजो हाम्रो पार्टी नेपाली कम्युनिष्ट पार्टी र नेकपा (एमाले ) का बीचमा प्रदेश सरकारहरु गठन गर्ने बारेमा भएको सहमतिका सम्बन्धमा केही कुरा स्पष्ट पार्न चाहन्छु । नेपाली काँग्रेस र नेकपा (एमाले ) मिलेर प्रदेश सरकारहरू सञ्चालन भइरहेको अवस्थामा हाम्रो पार्टी बाँकी अवधिका लागि पनि त्यही सरकार निरन्तर चलोस् भन्ने चाहन्थ्यो। कम्तिमा पनि हामी यतिबेला सरकार फाल्ने वा बनाउने कार्यमा संलग्न हुन चाहँदैन थियौं । हामीले यही कुरा नेपाली कांग्रेस र एमालेसँग गरेका पनि थियौं । तर नेपाली कांग्रेस र एमाले एउटै सरकारमा बस्दै नबस्ने स्थिति आएपछि तत्काल प्रदेशसभा विघटनमा जान नदिनका लागि हामीले सरकारमा सहभागी हुने बाध्यात्मक निर्णय लिनु पर्ने स्थितिमा पुगेका हौं । त्यसरी सरकार बनाउँदा नेपाली कांग्रेस र एमाले मध्ये कुनै एउटासँग सहमति गर्नुपर्ने स्थिति उत्पन्न भएपछि वामपन्थी शक्तिसँग सहकार्य गर्ने पार्टीको नीति अनुसार हिजोको सहमति भएको हो ।’

उनले प्रदेश सरकारहरु गठन गर्दा विगतका कमजोरीहरू दोहोरिन नदिन संकल्प गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘अब प्रदेशहरूमा सरकारहरू गठन गर्ने प्रक्रियामा अघि बढिरहँदा हामीले प्रारम्भदेखि नै गत कालका कमजोरीहरू दोहोरिन नदिन संकल्प गर्नुपर्छ । मुख्यमन्त्री वा मन्त्रीहरु बन्नु हाम्रो प्राथमिकता विषय होइन, हाम्रो सरकार, मुख्यमन्त्री वा मन्त्रीहरूले संघीयताको सार्थकता बोध गराउने गरी प्रदेश र प्रदेशका जनताको हितलाई केन्द्रमा राखेर काम गर्नु पर्छ । सरकारको नीति, कार्यक्रम र निर्णयहरू संविधानले निर्देश गरे अनुरुप समाजवादउन्मुख समृद्धिको पक्षमा कसरी बनाउने र सरकारका मन्त्रीहरुको जीवन आचरण, कार्यशैली र संस्कृति कसरी वामपन्थी सरकारको मन्त्रीहरूको जस्तो बनाउने भन्नेमा केन्द्रित हुनुपर्दछ । अब त्यसमा कुनै सम्झौता वा हेलचक्याई हुन सक्दैन, हुनु हुँदैन ।’

उनले आफ्नो पार्टीको हकमा पार्टीको अनुगमन तथा मूल्याङ्कन विभागद्वारा प्रमुख कार्यसम्पादन सूचक विधिमार्फत शुरुदेखि नै अनुगमन तथा मूल्यांकन प्रक्रिया अघि बढाउने बताएका छन् ।

नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार गठन तथा सत्ता साझेदारीका विषयमा शनिबार तीन बुँदे सहमति भएको छ ।

सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ । यस्तै, मधेश र गण्डकी प्रदेश मा सरकार गठनका विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग परामर्श गरी सरकारको नेतृत्व तथा सहभागिताको स्वरूप तय गरिने सहमतिपत्रमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *