रुसी जोखिमबीच युक्रेनले बेलारुस सीमामा सुरक्षा कडा बनाउँदै

युक्रेन । रुसको सम्भावित सैन्य जोखिमलाई ध्यानमा राख्दै युक्रेनले बेलारुससँग जोडिएको उत्तरी सीमाको सुरक्षा संरचना थप मजबुत बनाउँदै लगेको छ।

रुसले चार वर्षअघि बेलारुसको भूमिबाट युक्रेनमाथि आक्रमण सुरु गरेपछि दुई देशबीचको सीमा क्षेत्र संवेदनशील बनेको हो। कुनै समय सर्वसाधारणको नियमित आवतजावत हुने यो क्षेत्र अहिले सुरक्षा अवरोध, बारुदी सुरुङ र निगरानी प्रणालीले भरिएको प्रतिबन्धित भूभागमा परिणत भएको छ।

करिब १ हजार ८४ किलोमिटर लामो युक्रेन–बेलारुस सीमामा सडक क्षेत्रमा ड्रोन रोक्ने जाली, धारिलो तारका बार तथा ‘ड्र्यागन टिथ’ भनिने ट्यांकविरोधी कङ्क्रिट अवरोध निर्माण गरिएको छ।

एसोसिएटेड प्रेसका अनुसार उत्तरी युक्रेनको सीमावर्ती क्षेत्रको अवलोकनका क्रममा युक्रेनी अधिकारीहरूले बेलारुससँग रुसले ड्रोन सञ्चालन र युक्रेनी सहरमाथिको आक्रमणका लागि प्रयोग गरेको सञ्चार रिले स्टेसन बन्द गर्न आग्रह गरेको बताएका छन्। उक्त कदमपछि दुई देशबीचको तनाव केही घटेको अधिकारीहरूको भनाइ छ।

बेलारुसमा रुसी सैन्य उपस्थितिमा ठूलो वृद्धि नदेखिए पनि युक्रेनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सीमा सुरक्षा बलियो बनाउने कार्यलाई निरन्तरता दिएको छ।

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले आफ्नो देशमाथि आक्रमण नभएसम्म युद्धमा सेना पठाउने योजना नरहेको बताउँदै आएका छन्। तर सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दाहरू भने बेलारुस रुसको युद्धमा थप संलग्न हुन सक्ने सम्भावनाप्रति चिन्तित छन्।

युक्रेनी सीमा सुरक्षाकर्मीहरूले बख्तरबन्द सवारीसाधन, ड्रोन र अन्य निगरानी उपकरण प्रयोग गरी चौबीसै घण्टा गस्ती गरिरहेका छन्। अधिकारीहरूका अनुसार रुसको नजिकको सैन्य साझेदार रहेको बेलारुससँगको सीमामा सुरक्षा संरचना विस्तार आगामी दिनमा पनि प्राथमिकतामा रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *