पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने

काठमाडौँ । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले नेपाली वा विदेशी नागरिकले पाँच हजार अमेरिकी डलर बराबरको भन्सार घोषणाबिनै नेपालमा ल्याउन पाइने जनाएको छ ।

राष्ट्र बैंकले बिहीबार सार्वजनिक सूचना जारी गरेर पाँच हजार डलर बराबरको अमेरिकी मुद्रा र पाँच हजार अमेरिकी डलर बराबर हुन आउने भारतीय रुपैयाँ पनि भन्सार घोषणाबिनै नेपालमा भित्र्याउन सकिने जनाएको हो । पाँच हजार अमेरिकी डलरभन्दा बढी मुद्रा ल्याउँदा अनिवार्य रूपमा भन्सार घोषणा गरेर मात्रै ल्याउनुपर्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

यसैबीच, नेपाल राष्ट्र बैंकले सन् २०१६ नोभेम्बर ९ तारिखदेखि निष्कासन भई चलनचल्तीमा रहेका भारु २०० र भारु ५०० का नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रुपैयाँ २५ हजारको सीमासम्म प्रचलित व्यवस्थाबमोजिम ल्याउन÷लैजान तथा सटही गर्न सकिने व्यवस्था गरेको छ ।

नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्था रहेको जनाएको छ । राष्ट्र बैंकले सन् सन् २०१६ नोभेम्बर ९ तारिखभन्दा अगाडि चलनचल्तीमा रहेका भारतीय रुपैयाँ ५०० र एक हजार दरका नोटको कारोबार गर्न नपाइने व्यवस्था कायमै रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *