जेलेन्स्कीद्वारा युक्रेनका सेनाप्रमुख बर्खास्त

बीबीसी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेना प्रमुख ओलेक्सान्द्र सिस्र्कीलाई पदबाट बर्खास्त गरेका छन् । रक्षा मन्त्री मिखाइलो फेदोरोभलाई हटाइएपछि देशभर भएको विरोध प्रदर्शनको केही दिनमै सेनाप्रमुख परिवर्तन गरिएको हो ।

फेदोरोभ र सिस्र्कीबीचको मतभेदका कारण रक्षा मन्त्रालयमा नेतृत्व परिवर्तन भएको चर्चा यसअघि नै चलेको थियो, जसको पुष्टि पनि भएको छ।

३५ वर्षीय फेदोरोभले रक्षा मन्त्रालयलाई प्रभावकारी बनाउनुका साथै सशस्त्र सेनाको आधुनिकीकरण र भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेका कारण व्यापक प्रशंसा पाएका थिए । यता ६० वर्षीय सिस्र्कीलाई भने सोभियत शैलीको नेतृत्वमा विश्वास गर्ने र सेनामा आवश्यक सुधार लागू गर्न अनिच्छुक कमाण्डरका रूपमा आलोचना हुँदै आएको थियो।

सिस्र्कीको स्थानमा ४३ वर्षीय युद्धअनुभवी तथा लोकप्रिय जनरल मिखाइलो ड्रापाटीलाई प्रधानसेनापति नियुक्त गरिएको छ। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत देशको रक्षा गरिरहेका सैनिकप्रति सम्मानका साथ पूर्ण जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सिस्र्कीले युक्रेनी सेनालाई सुदृढ बनाउन दिएको योगदानको पनि प्रशंसा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *