अमेरिका र इरानलाई वार्ता पुनः सुरु गर्न चीन र पाकिस्तानको आग्रह

सांघाई । हर्मुज जलघाँटीमा पुनः युद्ध चर्किएसँगै चीन र पाकिस्तानले अमेरिका तथा इरानलाई तत्काल शत्रुता अन्त्य गरी वार्ता पुनः सुरु गर्न संयुक्त आह्वान गरेका छन् । दुवै देशले पछिल्ला महिनादेखि मध्यपूर्व सङ्कट समाधानका लागि मध्यस्थताको प्रयास गरिरहेका छन् ।

चिनियाँ विदेश मन्त्रालयका अनुसार चीनका विदेशमन्त्री वाङ यी र पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै वर्तमान अवस्था थप जटिल बन्दै गएकोमा गम्भीर चिन्ता व्यक्त गरेका हुन् । उनीहरूले सबै सम्बन्धित पक्षलाई तत्काल युद्धविराम लागू गर्न र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन् ।

वक्तव्यमा अमेरिका–इरानबीच गत जुनमा भएको प्रारम्भिक सहमतिलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्दै त्यसलाई जोगाउनुपर्नेमा जोड दिइएको छ । विदेशमन्त्री वाङले उक्त सहमति ‘कडा मेहनतपछि प्राप्त भएको उपलब्धि’ भएको उल्लेख गर्दै शान्ति नजिक पुगेको अवस्थामा थप द्वन्द्वले त्यसलाई गुमाउन नहुने बताए ।

यसैबीच शुक्रबार अमेरिका र इरानबीच फेरि आक्रमणको आदानप्रदान भएको छ । तेहरानले अमेरिकाले विमानस्थल, रेल स्टेशन र दुईवटा पुलसहितका नागरिक पूर्वाधारमा आक्रमण गरेको आरोप लगाएको छ । त्यसको प्रत्युत्तरमा इरानले कुवेतस्थित अमेरिकी सैन्य सुविधा तथा पूर्वाधारलाई लक्षित गरी ड्रोन आक्रमण गरेको जनाएको छ ।

गत जुनमा भएको अमेरिका–इरान सहमतिपछि केही समयका लागि हर्मुज जलघाँटी पुनः सञ्चालनमा आएको थियो । तर इरानले गत साता अमेरिकाले आफ्ना आक्रमण नरोक्दासम्म जलघाँटी पुनः बन्द गरिने चेतावनी दिएको थियो ।

त्यसपछि अमेरिकाले पनि इरानी बन्दरगाहहरूमा पुनः नाकाबन्दी लागू गरेको छ । चीन र पाकिस्तानले पछिल्ला घटनाक्रमले क्षेत्रीय तनाव थप बढाएको भन्दै दुवै पक्षलाई सैन्य टकरावबाट पछि हटेर कूटनीतिक वार्तामार्फत समाधान खोज्न पुनः आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *