पोखरामा फोहरलाई मोहरमा बदल्न छानिए १३ उद्यमी

राम थापा, गण्डकी । पोखरा महानगरपालिकामा सञ्चालित रिसाइक्लिङ (पुनर्चक्रण) र अपसाइक्लिङ (उन्नत पुनर्चक्रण)मार्फत हरित रोजगारी सिर्जना परियोजना’अन्तर्गत ‘बिजनेस इन्क्युवेशन’ (व्यवसाय अनुकूलन केन्द्र) कार्यक्रमबाट १३ उत्कृष्ट उद्यमी छनोट भएका छन् ।

मङ्गलबार र बुधबार पोखरामा आयोजित उक्त कार्यक्रमबाट ‘पोष्ट इन्क्युवेशन’ (व्यवसाय विस्तारको चरण) कार्यक्रमअन्तर्गत सहयोगका लागि आन्तरिक तथा बाह्य मूल्याङ्कनका आधारमा १३ उत्कृष्ट उद्यमी छनोट गरिएको हो ।

‘रिसाइकलिङ र अपसाइकलिङ’मा आधारित २३ वटा उद्यम तथा व्यावसायिक प्रतिष्ठानले उक्त कार्यक्रममा भाग लिएका थिए । सहभागीले आफ्नो व्यावसायिक योजना र नवप्रर्वतनशील उत्पादनका बारेमा प्रस्तुतीकरण निर्णायक समितिसमक्ष प्रस्तुत गरेका थिए । उद्यमीहरूले कागज, कपडा, सिसा, कृषि अवशेष तथा जैविक फोहरबाट उत्पादन गरेका विभिन्न वस्तु तथा सामग्री प्रदर्शनीमा राखिएको थियो ।

छनोटमा परेका उद्यमीले कोरिया अन्तरराष्ट्रिय सहयोग नियोग र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहयोगमा सञ्चालित उक्त परियोजनाबाट उपकरण तथा प्राविधिक सहयोग प्राप्त गर्नेछन् । उक्त कार्यक्रममा सहजीकरण गरिरहेको ‘इम्प्याक्ट हब’ काठमाडौँका कार्यक्रम अधिकृत सजिना भण्डारीका अनुसार हिमालयन जायन्ट नेटल एण्ड डेभलपमेन्ट, क्लिनिट अपसाइकल्र्स, विद्याता हस्तकला, इको फेमेली प्राली, ओपस डेकोर, विपुल सुवेदी, सुरुची थापामगर, श्रीजय तुलाधर र नारायणमल्ल ठकुरी चयन भएका हुन् ।

यस्तै, शारीरिक अपाङ्गता भएका चार जना उद्यमी ‘पोष्ट इन्क्युवेशन’ कार्यक्रमअन्तर्गत सहयोगका लागि छनोटमा परेका उहाँले जानकारी दिए । जसमा सङ्गीता कुँवर, (महिला सशक्तीकरण केन्द्र), हेमबहादुर गुरुङ, सुशील गोदार (समृद्धि एण्ड सुशान्त स्टोर्स) र सागर परियार (दुनाटपरी तथा हस्तकला उद्योग) रहेका छन् ।

चार महिनासम्म सञ्चालन गरिएको ‘बिजनेस इन्क्युवेशन’ कार्यक्रमबाट उत्कृष्ट उद्यमी छनोट गरिएको कार्यक्रम अधिकृत भण्डारीले बताए । कार्यक्रममा सहभागीलाई परियोजना र ‘इम्प्याक्ट’ केन्द्रको आन्तरिक मूल्याङ्कनबाट ४० र बाहिरी मूल्याङ्कनबाट ६० प्रतिशत अङ्क प्रदान गरिएको उनले जानकारी दिए  ।

निर्णायक समितिमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पूर्वकार्यकारी निर्देशक उमेशकुमार गुप्ता, पोखरा महानगरपालिकाको वातावरण, फोहरमैला व्यवस्थापन तथा वन महाशाखाका प्रमुख प्रभात लामिछाने, व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख नवराज अधिकारी तथा परियोजनाका राष्ट्रिय परियोजना प्रबन्धक यमुना सुवाल रहनुभएको थियो । समितिले नवप्रवर्तन, व्यावसायिक सम्भाव्यता, वातावरणीय प्रभाव, विस्तारको सम्भावना तथा बजार क्षमतालगायत आधारमा मूल्याङ्कन गरी सहभागी उद्यमीलाई आवश्यक सुझाव प्रदान गरेको थियो ।

छनोटमा परेका उद्यमीले पोखरामा फोहरलाई रिसाइक्लिङ र अपसाइक्लिङ गरी विभिन्न व्यवसाय तथा उद्यम सञ्चालन गर्ने परियोजनाका सहजकर्ता एवं महानगरको वातावरण, फोहरमैला व्यवस्थापन तथा वन महाशाखाका प्रमुख प्रभात लामिछानेले बताए । “छनोटमा परेका उद्यमीले पोखरा महानगरभित्र व्यवसाय स्थापना तथा विस्तारका लागि लागि प्राविधिक र उपकरण प्राप्त गर्नेछन्”, उनले भने, “फोहरबाट उद्यम विकास र हरित रोजगारी सिर्जनाका लागि परियोजनाले सहयोग गर्दै आएको छ ।”

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका गण्डकी तथा लुम्बिनी प्रदेशका स्थलगत कार्यालय प्रमुख सुदीप अर्यालले परियोजनाले रिसाइक्लिङ र अपसाइक्लिङमा आधारित उद्यम विकास, हरित रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन तथा पोखरामा चक्रीय अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताए । उनले कार्यक्रममा हासिल गरेको ज्ञान, सीप र व्यावसायिक सञ्जाललाई उपयोग गर्दै आफ्नो उद्यमलाई थप विस्तार गरी हरित रोजगारी सिर्जना गर्न तथा पोखराको चक्रीय अर्थतन्त्रलाई सुदृढ बनाउन उद्यमीलाई आग्रह गरे ।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले फोहरलाई आयआर्जन र रोजगारीसँग जोड्न परियोजना सञ्चालन गरिएको बताए । ‘क्लिन पोखरा, ग्रिन’को अवधारणाअनुसार महानगरले फोहर व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको उनको भनाइ छ ।

महानगर प्रमुख आचार्यले पोखरा प्रदर्शनी केन्द्रमा निर्माणाधीन ‘ग्रिन भेन्चर जोन’लाई रिसाइक्लिङ र अपसाइकलिङको सिकाइ केन्द्रका रूपमा विकास गरिने बताए । जसबाट उद्यमीहरूले व्यवसाय परामर्श, प्रशिक्षण, व्यवसाय प्रवर्द्धन तथा बजार पहुँच विस्तारका लागि अवसर प्राप्त गर्ने उनको भनाइ छ ।

परियोजनाले सन् २०२९ सम्म पोखरामा ३० वटा रिसाइकलिङ र अपसाइक्लिङमा आधारित उद्यम स्थापना तथा तीन सयभन्दा बढी हरित रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । यस्ता उद्यममार्फत स्थानीयस्तरमा फोहरलाई मूल्यवान् स्रोतका रुपमा रूपान्तरण गर्दै चक्रीय अर्थतन्त्रलाई सुदृढ बनाउने, वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने र दिगो हरित आर्थिक विकासमा योगदान पुग्ने विश्वास लिइएको छ ।

परियोजनामार्फत हालको अभ्यासः प्रयोग गर्ने र फाल्ने ‘थ्रो अवे’ को सट्टा चक्रीय अर्थतन्त्र प्रणालीमा आधारित रिसाइक्लिङ/अपसाइक्लिङ उद्यमहरू स्थापना गरी हरित अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने उद्देश्य लिइएको परियोजनाले जनाएको छ । हरित रोजगारी प्रवर्द्धन गर्दै ठोस फोहोरमैलाबाट सिर्जना हुने प्रदुषण तथा नकारात्मक वातावरणीय प्रभाव न्यूनीकरणमा टेवा पुग्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *