काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पाठ्यक्रम विकास केन्द्रले भारतका चार विश्वविद्यालयबाट प्राप्त उपाधिका आधारमा यसअघि जारी गरिएका ११४ जना विद्यार्थीको समकक्षता पत्र रद्द गरेको छ ।
केन्द्रले बुधबार सूचना जारी गरी भारतको मेघालयस्थित सिएमजे विश्वविद्यालय, जोरावट टेक्नो ग्लोबल विश्वविद्यालय, सांघाई अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा झारखण्डस्थित प्रज्ञान अन्तर्राष्ट्रिय विश्वविदालयबाट प्राप्त उपाधिलाई प्रदान गरिएको समकक्षता रद्द गरिएको जनाएको हो।
केन्द्रका अनुसार ती उपाधिको समकक्षता रद्द गर्ने प्रक्रियाअन्तर्गत ३५ दिने सार्वजनिक सूचना जारी गरिएको थियो। निर्धारित अवधिभित्र सम्बन्धित व्यक्तिहरूले पेश गरेका कागजातबाट समकक्षता कायम राख्नुपर्ने पर्याप्त आधार पुष्टि नभएपछि समकक्षता रद्द गर्ने निर्णय गरिएको हो ।
त्रिविले उक्त निर्णय त्रिभुवन विश्वविद्यालय उपाधि मान्यता तथा समकक्षता सम्बन्धी विनियम, २०८२ को विनियम २१ बमोजिम गरिएको जनाएको छ। सूचना अनुसार समकक्षता रद्द भएका व्यक्तिहरूको नाममा जारी गरिएका सबै समकक्षता पत्र अबदेखि अमान्य हुनेछन्।









