काठमाडौँ । गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई दोषी ठहर गर्दै जेल सजाय र जरिवाना सुनाएको छ ।
मंगलबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू हेमन्त रावल र डिलीरत्न श्रेष्ठको इजलासले पौडेललाई २ वर्ष कैद र सार्वजनिक पदमा रहेको व्यक्ति भएकाले थप ६ महिना गरी कुल २ वर्ष ६ महिना कैद सजाय सुनाएको हो ।
यस्तै, उनले गैरकानुनी रूपमा आर्जन गरेको ठहर गरिएको १२ करोड ७५ लाख ७० हजार २३७ रुपैयाँ ४३ पैसा बराबरको सम्पत्ति जफत हुने र सोही बराबरको थप जरिवाना पनि तिर्नुपर्ने फैसला भएको छ । यसका साथै, अपराध पीडित संरक्षण ऐन बमोजिम ५१ लाख २ हजार ८०९ रुपैयाँ ४९ पैसा क्षतिपूर्ति शुल्कसमेत तिर्नुपर्नेछ ।
पौडेल यसअघि नै पेमेन्ट गेटवे भ्रष्टाचार मुद्दामा समेत दोषी ठहर भइसकेका व्यक्ति हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियो ।
