काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संचारमाध्यम र नेताको घर अगाडि गाडी तेस्र्याउने घटनाको छानबिन हुने बताएका छन् ।
मंगलबार संसद् भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै सभापति लामिछानेले यो घटनालाई गम्भीरतापूर्वक लिएको बताए। यो गतिविधिमा पार्टीका नेता कार्यकर्ता संलग्न भए कारबाही गर्ने बताए ।
उनले भने, ‘रास्वपा त्यो पार्टी हो जसले आफ्नो सांसदलाई ७२ घण्टाभित्र कारबाही गरेको हो । रास्वपालाई यो प्रश्न सोध्नुहुन्छ ? किन नहुनु, जो भए पनि हुन्छ ।’
उनले यो घटनाबारे पार्टीले आफ्नो धारणा विज्ञप्तिमार्फत सार्वजनिक गरिसकेको र उक्त कुरामा अहिले पनि अडिग रहेको बताए ।
उनले भने, ‘पार्टीले भनिसक्यो, विज्ञप्ति निकाल्यो । यो गलत हो भनेर हामीले भनेका छौं । छानबिन हुनुपर्छ, कारबाही हुनुपर्छ भन्ने कुरामा हामी अडिग छौं ।’ उनले पार्टीले यो घटनालाई गम्भीरतापूर्वक लिएर विज्ञप्ति निकालेको बताए ।
उनले भने, ‘तत्काललाई के गरियो भन्ने बेग्लै कुरा हो । तर यो घटनालाई हेर्ने दृष्टिकोण पार्टीको स्पष्ट छ । तत्काललाई छोडियो, कि समाइयो कि, के मुद्दा लाग्यो कि लागेन भन्ने बेग्लै कुरा हो । समग्रमा यो जुन चिज देखियो, त्यो अस्वाभाविक भएको हुनाले यसमाथि पार्टीले जुन विज्ञप्ति निकालेर भनेको छ, त्यसमा पार्टी अडिग छ ।’
