काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले देशका प्रमुख सञ्चारगृहहरूको मूलगेटमा शंकास्पद रूपमा सवारीसाधन छाडिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप तत्काल बन्द गर्न सरकारसँग माग गरेको छ ।
पार्टी प्रवक्ता प्रकाश ज्वालाले सोमबार जारी गरेको विज्ञप्तिमा उक्त घटनाले सञ्चार संस्थाको नियमित कार्यसम्पादनमा अवरोध पुर्याउनुका साथै सञ्चारकर्मीलाई त्रसित बनाएको उल्लेख गरिएको छ। संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गरिने कुनै पनि हस्तक्षेप लोकतान्त्रिक व्यवस्थामाथिकै प्रहार भएको पार्टीको ठहर छ ।
विज्ञप्तिमा प्रेसलाई तर्साएर वा दबाबमा राखेर सत्यलाई रोक्न सकिन्छ भन्ने सोच लोकतन्त्रविरोधी मानसिकताको उपज भएको उल्लेख गर्दै सञ्चारमाध्यममाथि हुने कुनै पनि दबाब स्वीकार्य नहुने स्पष्ट पारिएको छ ।
पार्टीले सुकुम्बासी, मिटरब्याज पीडित, सहकारी पीडित, बेरोजगारी, भ्रष्टाचार, बेथिति तथा जनजीविकाका सवालमा निरन्तर खबरदारी गरिरहेका सञ्चारमाध्यमलाई निशाना बनाउने प्रयास गम्भीर विषय भएको जनाएको छ। राज्य संयन्त्रका कमजोरी ढाकछोप गर्न वा आलोचनात्मक आवाज कमजोर बनाउन प्रेसमाथि दबाब सिर्जना गर्ने प्रवृत्ति संविधान, लोकतान्त्रिक मूल्य र विधिको शासनविपरीत रहेको विज्ञप्तिमा उल्लेख छ।
नेकपाले राज्य कानुन, संविधान र विधिबाट सञ्चालन हुनुपर्ने भन्दै बहुमतको आडमा संविधान मिच्न नहुने पनि जनाएको छ । प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएकाले त्यसमा कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने पार्टीको भनाइ छ।
घटनाको निष्पक्ष, स्वतन्त्र र शीघ्र अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि कानुनी कारबाही गर्न तथा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारसँग पार्टीले माग गरेको छ।
विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै सञ्चारमाध्यमलाई निर्भयतापूर्वक समाचार सम्प्रेषण गर्न सक्ने लोकतान्त्रिक वातावरण सुनिश्चित गर्न पनि सरकारसँग आग्रह गरिएको छ।
