राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण र सार्वजनिक खरिद विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकबाट ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । अध्यादेशलाई विस्थापन गर्न ल्याइएको सो विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको हो । विधेयक अब प्रतिनिधिसभामा फिर्ता जानेछ ।

सभामा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सो विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको उक्त विधेयकमाथि छलफलका लागि प्रस्ताव गरेका थिए । विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा वाग्लेले राष्ट्रिय आवश्यकता र समयको चापलाई ध्यान दिएर प्राप्त सुझावहरूलाई मनन् गर्ने विश्वास दिलाए । यसअघि विधेयकमाथि सदस्य खम्बबहादुर खातीले छलफलमा भाग लिएका थिए ।

विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसहित ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’,   ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ माथि समितिको प्रतिवेदन आजैको पहिलो बैठकमा पेस गरेका थिए ।

यस्तै राष्ट्रियसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

अध्यादेशलाई विस्थापन गर्न ल्याइएको सो विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको हो । सभाले समितिको संशोधनलाई स्वीकार गरेको छ । सो विधेयक अब प्रतिनिधिसभामा फिर्ता जानेछ ।

विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले सार्वजनिक खरिद प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउन विधेयक ल्याइएको बताइन् ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको सो विधेयकमाथिको छलफलमा रेणु चन्दले भाग लिएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *