काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत केही वरिष्ठ प्रहरी अधिकृतहरूको काज तथा सरुवालाई लिएर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले बिहीबार विज्ञप्ति जारी गरी सम्बन्धित प्रहरी अधिकृतहरूको काज तथा सरुवा नियमित प्रशासनिक कार्य, प्रचलित कानुनी व्यवस्था तथा स्थापित प्रशासनिक प्रक्रिया बमोजिम गरिएको स्पष्ट पारेको हो।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले असार १८ र १९ गते जारी गरेको पत्रका आधारमा उक्त काज तथा सरुवा गरिएको हो। प्रहरीका अनुसार यो प्रक्रिया कुनै विशेष घटना, अनुसन्धान, उजुरी वा अन्य कुनै विषयसँग सम्बन्धित नभई नियमित कर्मचारी व्यवस्थापनअन्तर्गत सम्पन्न गरिएको हो।
प्रहरीले तथ्य र आधिकारिक जानकारीबिनै अनुमानका आधारमा समाचार, टिप्पणी तथा विश्लेषण प्रकाशित–प्रसारित गर्दा आम नागरिकमा भ्रम सिर्जना हुने, सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पर्ने र प्रशासनिक प्रक्रियालाई अनावश्यक रूपमा विवादित बनाउन सक्ने जनाएको छ।
यस्ता अपुष्ट, भ्रामक तथा तथ्यहीन सूचनाको पछि नलाग्न नेपाल प्रहरीले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सबै सरोकारवालासँग अनुरोध गरेको छ।

