‘के नेपालको लोकतन्त्रमा अधिनायकवादको भाइरस पसेको हो ?’

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले लोकतन्त्रमा अधिनायकवादी भाइरस पसेको बताएकी छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा अर्यालले चुनावअघि संघीयता बलियो बनाउने भनेर मत मागेको रास्वपाले अहिले प्रदेशसभा खारेजीको कुरा गरेको भन्द आपत्ति जनाएकी हुन् । उनले सरकारमा स्पष्ट अधिनायकवादी, फाँसीवादी, सर्वसत्तावादी प्रतिबिम्व देखिएको बताइन् ।

उनले भनिन्, ‘के नेपालको लोकतन्त्रमा अधिनायकवादको भाइरस पसेको हो ? सय दिनमा नै सरकारमा स्पष्ट अधिनायकवादी, फाँसीवादी, सर्वसत्तावादी प्रतिबिम्व देखिएको छ ।’

अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई वासिङ मेसिनका रुपमा टिप्पणी गरिन् । उनले भनिन्, ‘यसअघि गलत देखिएका र भनिका व्यक्ति रास्वपामा लाग्ने वितिक्क राम्रा भन्न थालिएको छ । रास्वपा वासिङ मेसिन हो? त्यहाँ पसेपछि सबै ठीक भइहाल्ने?’

उनले यसअघिका राजनीतिक नियुक्तिलाई अध्यादेशमार्फत हटाएको सरकारले अहिले आफ्नालाई नियुक्ति दिइरहेको आरोप लगाइन्। उनले भनिन्,‘चुनाव हारेकालाई भटाघट नियुक्त गर्दैछ । सरकार सय दिनमै चुकेको छ।’

उनले सरकारले सुशासनको नारा लगाए पनि पछिल्लो सय दिनमा तमासा मात्रै गरेको आरोप लगाइन् । उनले सरकारले पहिला थुन्ने, अनि सुन्ने नीति लिएको भन्दै आपत्ति जनाइन् ।

उनले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्व मन्त्रीहरूलाई थुन्ने, म्याद थप्ने र केही सीप नलागेपछि छोडिदिने विषयलाई नै सरकारले सय दिनको उपलब्धि ठानेको बताइन् ।

उनले मन्त्री र सांसदलाई सम्पत्ति छानबिन आयोगको दायरा भन्दा बाहिर राखिएको भन्दै आपत्ति जनाइन् ।

उनले भनिन्, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदाहुँदै सस्तो लोकप्रियताका लागि असंवैधानिक हिसाबले छानबिन आयोग गठन गरियो । त्यसमा त्यति धेरै केही भन्नु छैन, छानबिनको निम्ति सबै तयार हुनुपर्छ। तर एकतिर आयोग गठन गर्ने, अर्कोतिर मन्त्री, सांसदलाई त्यसको छानबिनको दायराभन्दा बाहिर राख्ने निर्णयसँगै सुशासनको तमासा र आयोग गठनको नियत प्रस्ट देखिन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *